सामाजिक विकास इकाइमा पूर्वमन्त्रीको तालाबन्दी, ६ दिनदेखि कामकाज ठप्प

सप्तरी, ३ वैशाख । मधेश प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको राजविराजस्थित इकाइ कार्यालयमा जनमत पार्टीका नेता तथा पूर्वमन्त्री महेशप्रसाद यादवले तालाबन्दी गरेपछि कार्यालयको नियमित कामकाज ६ दिनदेखि ठप्प भएको छ ।
गत शुक्रबार कार्यालयमा आफ्ना समर्थकसहित पुगेका यादवले योजनासम्बन्धी चिठीहरूमा अनियमितता भएको आरोप लगाउँदै जबरजस्ती तालाबन्दी गरेका थिए ।
पूर्वमन्त्री यादवले सामाजिक विकास इकाइमार्फत वितरण हुने योजनासम्बन्धी चिठीहरू निर्धारित प्रक्रियाविपरीत ‘घुमाइ–फिराइ’ गरिएको आरोप लगाए । उनका अनुसार चिठीहरू सिधा वडा कार्यालयमा नपठाई विभिन्न व्यक्तिमार्फत घुमाइने गरेको पाइएपछि उनी कारबाहीको माग गर्दै आफैँ कार्यालय पुगेका थिए ।
कार्यालय प्रमुख सुशिलकुमार झाले भने योजनासम्बन्धी चिठीहरू सिधै सम्बन्धित वडा कार्यालयमा पठाउने सरकारी प्रक्रिया रहेको प्रष्ट पारेका छन् । उनका अनुसार यादवले देखाएको आपत्ति प्रक्रियागत नभई राजनीतिक दबाब झल्किने खालको हो ।
यादवले कार्यालयमा तालाबन्दी गरेपछि प्रमुख जिल्ला अधिकारीसमक्ष साँचो बुझाउने प्रयास गरेका थिए । तर, प्रजिअले चाबी बुझ्न अस्वीकार गरेपछि यादव आफैं चाबी लिएर हिँडेका थिए । त्यसयता कार्यालयको ढोका नखुल्दा योजनासम्बन्धी सम्पूर्ण पत्राचार र प्रशासनिक काम ठप्प बनेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सरकारी कार्यालयमा तालाबन्दी गर्नु स्पष्ट रूपमा गैरकानुनी कार्य हो । ‘सरकारी काममा अवरोध पुर्याउनु आपराधिक क्रियाकलापको दायरामा पर्छ । यसबारेमा छलफल भइरहेको छ,’ उनले भने ।
कार्यालय बन्द हुँदा सेवा लिन आएका सर्वसाधारण मर्कामा परेका छन् । विशेष गरी योजनाको चिठी बुझ्न आएका वडाध्यक्ष, स्थानीय जनप्रतिनिधि तथा नागरिक कार्यालयबाहिर फर्किन बाध्य भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


