गंगासागर डिलमा रामनारायण मिश्र स्मृति भवन निर्माणको शुभारम्भ

जनकपुरधाम, ३ वैशाख । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको गंगासागर डिलमा राष्ट्रिय विभूति स्व. रामनारायण मिश्रको सम्झनामा ‘रामनारायण मिश्र स्मृति भवन’ निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ ।
बुधबार एक विशेष समारोहबीच रामनारायण मिश्र स्मारक समितिद्वारा निर्माणस्थलमा भूमिपूजन गरी स्मृति भवन निर्माणको शुभारम्भ गरिएको हो ।
यस परियोजनाको नक्सा २०७९ साल माघ महिनामा पास भएको थियो । निर्माण कार्यको जिम्मा लिएको कर्मा बाबा जेभी जलेश्वरले यो भवन ५ करोड ७४ लाख ९६ हजार १२२ रुपैयाँको लागतमा निर्माण गर्नेछ । सम्झौता अनुसार निर्माण कार्य सम्पन्न गर्न २०८२ फागुन २८ गतेसम्मको समय दिइएको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका नेता रामनारायण मिश्र मधेश र मिथिलाको सामाजिक, सांस्कृतिक तथा राजनीतिक चेतनाका उज्यालो व्यक्तित्व थिए । उनी नेपालको पहिलो मन्त्रिपरिषद्मा श्रममन्त्रीको रूपमा नियुक्त भएका थिए । त्यसैले, जनकपुरधाममा उनको नाममा स्मृति भवन निर्माण हुनु उनलाई श्रद्धाञ्जली अर्पण गर्नु हो भन्ने नेपाली कांग्रेसका युवा नेता जीवनाथ चौधरीको धारणा छ ।
स्मृति भवन जनकपुरधामको सांस्कृतिक गतिविधि, शैक्षिक छलफल, सामाजिक विमर्श तथा स्मृति संरक्षणको केन्द्र बन्ने लक्ष्य लिइएको उनले बताए । स्मारक समितिका अनुसार भवनमा बहुउद्देश्यीय सभा हल, पुस्तकालय, प्रशिक्षण कक्ष लगायतका सुविधा समेटिने छन् ।
स्मारक समितिले यो भवन जनकपुरको शहरी विकाससँगै रामनारायण मिश्रको विचार र योगदानलाई भविष्यका पुस्तासम्म संरक्षण गर्ने अभियानको हिस्सा भएको बताएको छ ।

नेपाली कांग्रेसका नेता रामसरोज यादवले स्मृति भवन निर्माणले जनकपुरमा शैक्षिक र सांस्कृतिक चेतनाको विस्तारमा सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन् । उनले यो भवनलाई विवादरहित ढंगले निर्माण गरी सबै समुदायको सहभागिता सुनिश्चित गर्न आग्रह गरे ।
हालसालै निर्माणस्थल गंगासागर डिल धार्मिक महत्त्वको क्षेत्र भएको कारण केही समूहबाट सरोकार राखिएको छ । तर, स्मारक समितिले निर्माण कार्य कानुनी प्रक्रिया पूरा गरी अगाडि बढाइएको दाबी गर्दै सबै पक्षको भावना र ऐतिहासिक महत्त्वलाई ध्यानमा राख्ने बताएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


