वीरगंज, ३ वैशाख । हनुमान जयन्तीको अवसरमा वीरगंजमा निकालिएको शोभायात्राका क्रममा उत्पन्न झडपपछि शहरमा केही दिनदेखि तनाबको स्थिति कायम रहँदै आएको छ । सामाजिक सद्भावमा असर पुर्याउने खालका गतिविधिका कारण प्रशासन सतर्क छ भने प्रदेश सरकारका उच्च तहबाट शान्ति र संयमको आह्वान गरिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यस घटनाप्रति चिन्ता व्यक्त गर्दै सबैलाई आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् । उनले हिंसा फैलाउने तत्वलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिएका छन् ।

मुख्यमन्त्री सिंहले वीरगंजलाई धार्मिक, सांस्कृतिक र जातीय विविधताको प्रतीकको रूपमा चित्रण गर्दै हाल देखिएको तनावलाई चिन्ताजनक भनेका छन् । ‘सद्भाव बिगार्ने हर्कत स्वीकार्य छैन,’ उनले भने, ‘समाजमा असहिष्णुता फैलाउने कार्यप्रति शून्य सहनशीलता अपनाइनेछ ।’

उनले समाजमा शान्ति र मेलमिलाप कायम राख्न स्थानीय प्रशासन, राजनीतिक दलहरू, नागरिक समाज र सुरक्षाकर्मीको भूमिकाको प्रशंसा गरे ।

मधेश प्रदेशका खानेपानी मन्त्री प्रदीप यादवले पनि सामाजिक सञ्जालमार्फत जनता समक्ष शान्तिको सन्देश प्रवाह गरेका छन् । उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई उत्तेजक र द्वेषपूर्ण पोस्ट नगर्न आह्वान गर्दै भने, ‘शान्ति खलल गर्नेलाई कानुनी कारबाही अवश्य हुनेछ । हामीले पुस्तौँदेखि पाल्दै आएको मेलमिलापको परम्परा जोगाउनु पर्छ ।’

पर्सा प्रहरीले शोभायात्राको क्रममा उत्पन्न झडपमा संलग्न दुवै पक्षका चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ । यस्तै, मंगलबार निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शनमा सहभागी भएका थप दुई जनालाई समेत पक्राउ गरिएको हो ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अनुसार प्रदर्शनका क्रममा रिपोर्टिङमा खटिएका तीन जना पत्रकार घाइते भएका छन् । महासंघले घटनाप्रति चिन्ता व्यक्त गर्दै पत्रकारहरूको सुरक्षामा थप ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

प्रहरीका अनुसार आज पनि वीरगंजका केही क्षेत्रमा प्रदर्शन जारी छ । स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । संभावित हिंसात्मक घटना नियन्त्रणमा ल्याउन प्रहरी र सशस्त्र बलले संयुक्त गस्ती गरिरहेका छन् ।