न्यायको पर्खाइमा मृत्युलाई अँगालेकी आनन्दीदेवी

सिरहा, ३ वैशाख । न्यायको आशामा प्रहरीको ढोका ढकढक्याइरहेकी सिरहा नरहा गाउँपालिका–४ बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय अन्ततः मृत भेटिइन् । चार महिनाअघि बलात्कार प्रयासबाट ज्यान जोगाएकी उनी न्याय नपाएर गाउँले र पीडकबाट मिलापत्र गर्न दबाब खेप्दै आत्महत्या गर्न बाध्य भएकी हुन् ।
उनको शव हाल बस्दै आएको नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतीघरको कोठाभित्र झुन्डिएको अवस्थामा भेटिएको छ । मृतककी एक छोरी छन् । श्रीमान्को असहयोगपछि उनी माइतीमै बस्दै आएकी थिइन् ।
गत पुस ९ गते बिहान करिब ११ बजे आनन्दीदेवी आफ्नी दिदीको घर जान लाग्दा नवराजपुर गाउँपालिका–३ जगतपुरमा उनीमाथि दुई युवाले बलात्कार प्रयास गरेका थिए । स्थानीय २२ वर्षीय संजीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले उनलाई हरिनारायण यादवको आँपको बगैंचामा लगेका थिए । ती युवाहरूले उनको लुगासमेत च्यातेपछि उनले चिच्याउँदै ज्यान जोगाइन् र घर फर्केर आमालाई घटनाबारे जानकारी दिइन् ।
त्यसपछि उनले प्रहरीमा किटानी जाहेरी दिइन् । तर, तत्कालै न्यायको ढोका खुल्न त परै जाओस्, प्रहरी र गाउँलेबाट उल्टै हप्कीदप्की र मिलापत्रको दबाब आयो ।
मृतककी आमा बिलटौनदेवी सदायका अनुसार जाहेरी दिएको दिनदेखि नै पीडक पक्षले गाउँमै मिल्न दवाब दिन थालेका थिए । ‘केही गर्न सक्दैनौ भनेर नरेन्द्र यादवसहितका व्यक्तिहरू बारम्बार धम्क्याउने गर्थे, ‘उनले भनिन्, ‘छोरी त न्याय खोज्न दौडिइ, तर उल्टै प्रहरी र समाजले अपमान मात्र दिए ।’
बिलटौनदेवीका अनुसार जाहेरी दिने क्रममा प्रहरीले बारम्बार आलटाल गर्यो । पुस ९ मा दिइएको जाहेरी फागुन १५ मा मात्रै दर्ता भयो । प्रहरीकै असंवेदनशीलता र ढिलासुस्तीले छोरी तनावमा थिइन् ।
महेशपुरपतारी प्रहरी प्रमुख इन्स्पेक्टर रविन मैनालीले भने जाहेरी दर्ता गर्न ढिलाइ हुनुको कारण पीडक पक्षबाट जाहेरी परेको भन्दै बताए । ‘पीडितको आमाले जाहेरी दिएको भोलिपल्ट पीडकले ‘फसाउन लागेको’ भन्दै उजुरी दिएपछि ढिलाइ भयो,’ उनले जिकिर गरे । उनले घटनासम्बन्धी घाउजाँच प्रहरीकै सहयोगमा गराएको र अनुसन्धान प्रक्रिया चलिरहेको दाबी गरे ।
तर, पीडित पक्षले भने प्रहरीकै व्यवहारले छोरीलाई मानसिक रूपमा थिचोमिचो बनाएको दाबी गरेका छन् । ‘जाहेरी दर्ता गरेर दिएको चिट अर्को दिन गयो भनेपछि च्यातिदिए,’ आमाले सुनाइन्, ‘त्यसपछि प्रहरीकै हप्कीदप्की सहनुपर्याे ।’
समाज, परिवार र प्रहरीबाट निरन्तर तिरस्कार र असहयोगका बीच आनन्दीदेवीले अन्ततः न्यायको पर्खाइमा आफ्नै जीवन समाप्त पारिन् । उनले न त राज्यबाट संरक्षण पाइन्, न समाजबाट सहानुभूति ।
उनको मृत्युपछि घटनामा संलग्न भनिएका युवाहरूको खोजी तीव्र पारिएको प्रहरीको दाबी छ । तर, आनन्दीदेवीले पाउनु पर्ने न्याय जीवनमा कहिल्यै आइपुग्न सकेन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


