जनकपुरधाम, ३ वैशाख । नेपाल विद्युत प्राधिकरणको ढल्केवर ग्रिडमा आज बिहान भएको आगलागीका कारण विद्युत सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । बिहानैदेखि विद्युत आपूर्ति रोकिएपछि जनजीवन प्रभावित भएको छ भने बजार, कार्यालय, विद्यालय र अन्य सेवा क्षेत्रहरूमा समस्या देखिएको छ ।

प्राधिकरणका अनुसार बिहान करिब ७ः३० बजे ग्रिडभित्र रहेको केबल, ब्रेकर र एमसिटी उपकरणमा अचानक सर्ट सर्किट भएर आगलागी सुरु भएको हो । आगो फैलिन नपाउँदैं एक घण्टाभित्र नियन्त्रणमा लिइएको भए पनि विद्युत संरचनामा भएको क्षतिका कारण सेवा अवरुद्ध हुन पुगेको हो ।

घटनाबारे जानकारी दिँदै नेपाल विद्युत प्राधिकरणका प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसियैतले भने, ‘सर्ट सर्किटको कारण ग्रिडभित्र आगलागी भएको थियो । क्षतिग्रस्त उपकरणहरूको मर्मत कार्य साढे ८ बजेबाट जारी छ ।’

आगलागीपछि धनुषा, महोत्तरी र सर्लाही जिल्लाको विद्युत आपूर्ति प्रभावित भएको थियो । सर्लाहीमा वैकल्पिक फिडमार्फत सेवा पुनः सुचारु गरिएको कुसियैतले जानकारी दिए । ‘सर्लाहीतर्फ बैकल्पिक उपाय अपनाइएको छ । तर, धनुषा र महोत्तरीमा मर्मत कार्य सम्पन्न नभएसम्म सेवा दिन सकिने छैन,’ उनले भने ।

कुसियैतका अनुसार ढल्केवर ग्रिडमा विद्युत सेवा पुनः सुचारु गर्न प्राविधिक टोली खटिएको छ । ‘यदि सबै काम योजना अनुसार सम्पन्न भयो भने आज साँझसम्म धनुषा र महोत्तरी जिल्लामा पनि सेवा पुनः सुरु हुने अपेक्षा गरिएको छ,’ उनले थपे ।

विद्युत सेवा अवरुद्ध हुँदा पानी आपूर्ति, इन्टरनेट सेवा, मोबाइल टावरहरू र अस्पतालको सेवा सञ्चालनमा पनि अवरोध देखिएको छ । केही स्थानहरूमा जेनेरेटरको सहायतामा सेवा सञ्चालन गरिएको भए पनि सबैका लागि वैकल्पिक उपाय सहज नभएको गुनासो उपभोक्ताहरूको छ ।