जनकपुरधाम, २ वैशाख । जनकपुरधामको ऐतिहासिक र धार्मिकरूपले महत्वपूर्ण गंगासागर पोखरी परिसरमा निर्माणाधीन ‘रामनारायण मिश्र स्मृति भवन’को विरोधमा स्थानीय युवाहरूले जनक चोकमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडपसमेत भएको छ ।

विरोध प्रदर्शनमा सहभागी युवाहरूले गंगासागरजस्तो धार्मिक आस्थाको केन्द्रमा कुनै पनि प्रकारको स्थायी संरचना निर्माण गर्न नहुने तर्क गर्दै स्मृति भवन अन्यत्र सार्न माग गरेका थिए । उनीहरूले ‘धार्मिक क्षेत्रमा राजनीति नभई संरक्षण चाहिन्छ’ भन्ने नारासहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा केही आक्रोशित युवाहरूले सडक अवरुद्ध गर्ने प्रयास गरेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेका थिए । यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच सामान्य धक्का–मुक्की पनि भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही समयका लागि जनक चोक क्षेत्रलाई घेराबन्दी गरेको थियो ।

प्रदर्शनमा सहभागी स्थानिय एक युवाले भने, ‘गंगासागर मिथिलाको आस्था र पहिचान हो । यहाँ रामनारायण मिश्र जस्तो व्यक्तित्वको स्मृति राख्न नहुने होइन, तर स्थानको चयन गलत छ । पोखरीको मौलिकता र वातावरणीय सन्तुलन बिग्रने डर छ ।’

रामनारायण मिश्र मधेशको राजनीतिक र शैक्षिक क्षेत्रमा योगदान पुर्याएका वरिष्ठ नेता तथा पूर्वमन्त्री थिए । उनको स्मृतिमा निर्माणाधीन भवनलाई गंगासागरको नजिकै बनाउने निर्णय जनकपुरधाम उपमहानगरपालिकाको पहलमा गरिएको हो । तर, यसले धार्मिक संवेदनशीलता र ऐतिहासिकतालाई प्रभावित पार्न सक्ने भन्दै विरोध भइरहेको छ ।