जनकपुरधाम, २ वैशाख । जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूमा प्रयोग हुने पाठ्यपुस्तकमाथि एकरूपता कायम गर्न लिएको निर्णयलाई पुस्तक व्यवसायी संघ, जनकपुरधाम उद्योग वाणिज्य संघ, अभिभावक संघलगायत सरोकारवाला संस्थाहरूले औपचारिकरूपमा धन्यवाद ज्ञापन गरेका छन् ।

निजी विद्यालयहरूले मनपरी ढंगले पाठ्यपुस्तक छनोट गरिरहेको र त्यसले बजारमा अनियन्त्रित प्रतिस्पर्धा, अभिभावकमाथि आर्थिक भार र विद्यार्थीमा पाठ्यक्रमगत असमञ्जसको स्थिति सिर्जना भइरहेको बेला उपमहानगरपालिकाले ‘एकीकृत पाठ्यपुस्तक सूची’ सार्वजनिक गर्दै यस्तो अभ्यासलाई अन्त्य गर्न खोज्नु प्रशंसनीय भएको संघको भनाइ छ ।

पुस्तक व्यवसायी संघका तर्फबाट बजरंग यादवद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘जनकपुरधाम उपमहानगरपालिका शिक्षा शाखाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पाठ्यपुस्तक विवरण–सूची हामी व्यवसायीहरूका लागि मात्र नभई सम्पूर्ण शैक्षिक क्षेत्रका हितधारीहरूका लागि स्वागतयोग्य र समयानुकूल निर्णय हो ।’

पत्रमा हाल प्रकाशित पुस्तक सूची विपरीत बजारमा केही फरक पाठ्यपुस्तक पाइएकाले त्यसप्रति सम्बन्धित पक्षहरू सचेत हुनुपर्ने माग पनि गरिएको छ । संघले स्पष्ट रूपमा विद्यालयहरूमाथि अनुगमन गरी उपमहानगरको निर्देशन कार्यान्वयन गराउन आग्रहसमेत गरेको छ ।

यो निर्णयले निजी विद्यालयहरूमा एकरूपता ल्याउने मात्र नभई अभिभावकका लागि सहजता, विद्यार्थीका लागि समान पाठ्यसामग्रीको पहुँच र व्यवसायिक समन्वयमा समेत सघाउ पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

बजारमा पछिल्लो समय पाठ्यपुस्तकको नाममा मुनाफा मात्रै खोज्ने प्रवृत्तिले शिक्षा क्षेत्रको नैतिकतामाथि प्रश्न उठाएको सन्दर्भमा जनकपुरधाम उपमहानगरपालिकाको यस्तो कदमले शिक्षालाई पुनः अनुशासित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।