त्रिविको उपकुलपतिमा प्रा. डा. केसी नियुक्त

काठमाडौं, २ वैशाख । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको उपकुलपतिका रूपमा शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीलाई जिम्मेवारी दिएका छन् ।
प्रा. डा. केशरजंग बरालले हालै पदबाट राजीनामा दिएपछि रिक्त रहेको उपकुलपतिमा केसीको नियुक्ति गरिएको हो । उनलाई अर्को व्यवस्था नहुँदासम्मका लागि उपकुलपतिका रूपमा कार्यभार सम्हाल्न दिइएको हो ।
प्रा. डा. केसीले उपकुलपतिका रूपमा नियुक्तिपत्र पाएको पुष्टि गरे । ‘मैले उपकुलपतिका रूपमा नियुक्तिपत्र प्राप्त गरिसकेको छु । अब कार्यालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हाल्छु,’ उनले भने ।
नयाँ जिम्मेवारी पाएपछि डा. केसीले त्रिवि जस्तो ऐतिहासिक र विशाल शिक्षण संस्थालाई पारदर्शिता, अनुसन्धानमुखी दृष्टिकोण र नवप्रवर्तनकारी रणनीतिबाट अघि बढाउने आफ्नो दृढ संकल्प सुनाएका छन् । ‘त्रिविको शैक्षिक, प्रशासनिक र अनुसन्धान सम्बन्धी क्षेत्रहरूमा सुशासन र प्रभावकारी कार्यान्वयन ल्याउनु मेरो पहिलो प्राथमिकता हुनेछ,’ डा. केसीले भने ।
त्रिविका पूर्व उपकुलपति डा. केशरजंग बरालको कार्यकाल विवाद र चुनौतीपूर्ण निर्णयहरूबीच सम्पन्न भएको थियो । नयाँ नेतृत्वका रूपमा डा. केसीसँग विद्यार्थी, प्राध्यापक र प्रशासनबीच समन्वय कायम गर्दै संस्थागत सुधारको अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


