जनकपुरधाम, २ वैशाख । महोत्तरीको पिपरामा लोकनायक राजा सल्हेसको गहबर (मन्दिर) निर्माण सम्पन्न भई मंगलबार एक भव्य समारोहबीच उद्घाटन गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता रामकुमार शर्माले पिपरा गाउँपालिका–४ स्थित उक्त गहबरको उद्घाटन गरेका हुन् ।

नेता शर्माले भने, ‘राजा सल्हेसको इतिहास हाम्रो पहिचानसँग जोडिएको छ । उनी परम्परा र प्रतिरोध दुबैका प्रतीक हुन् । यो गहबर केवल धार्मिक आस्था होइन, सांस्कृतिक जगेर्ना र स्वाभिमानको प्रतिनिधि संरचना हो ।’

उनको अध्यक्ष रहेको बेला वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को पहलमा प्रदेश सांसद अभिराम शर्मा र पिपरा गाउँपालिकाको संयुक्त प्रयासमा ५० लाख रुपैयाँको बजेट विनियोजन गरेर सो गहबर निर्माण गरिएको हो ।

उक्त उद्घाटन कार्यक्रममा पिपरा गाउँपालिका अध्यक्ष राम जानकी यादव, वडाध्यक्ष बैदेही पासवान लगायत स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति थियो । स्थानीयहरूमा ठूलो उत्साह देखिएको थियो भने पिपरा गाउँलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन सकिने सम्भावनाबारे समेत छलफल भएको थियो ।

नेता शर्माले स्थानीय तह र प्रदेश सरकारले यस्ता मौलिक सम्पदा र इतिहास बोकेका ठाउँहरूमा गम्भीर लगानी गर्नुपर्नेमा जोड दिँदै भने, ‘हाम्रो इतिहास, हाम्रो संस्कृति नै हाम्रो भविष्य हो । राजा सल्हेसको गाथालाई पुस्तान्तर गर्न सके मात्र हामीले मिथिला जोगाउन सक्छौं ।’

गहबर परिसरमा पार्क, विश्रामस्थल र पर्यटकका लागि सूचनामूलक पाटीहरू राख्ने योजना अगाडि बढाइएको जनाइएको छ । यो संरचनाले सांस्कृतिक संरक्षणका साथै स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ ।