जनकपुरधाम, २ वैशाख । जनकपुरधाममा प्लास्टिकको अत्यधिक प्रयोग र सरसफाइ अभावका समस्यालाई सम्बोधन गर्न नयाँ आशालाग्दो अभियान थालिएको छ । ‘प्लाष्टिकको प्रयोग घटाऔँ, स्वच्छ टोल बनाऔँ’ भन्ने नारासहित सुरू भएको यस अभियानले स्थानीय समुदायमा फोहर व्यवस्थापन र वातावरणीय संरक्षणप्रति चेतना अभिवृद्धि गर्दै सकारात्मक सन्देश फैलाइरहेको छ ।

यो अभियान युरोपियन यूनियनको सहयोगमा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजना अन्तर्गत क्रिएशन, रेस्टलेस डेभलपमेन्ट र युथ इनोभेसन ल्याब को साझेदारीमा सञ्चालित हो । परियोजनामा युवा पैरवी समूहका रूपमा आबद्ध कार्ड नेपालले यसको नेतृत्व गरिरहेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–४ अन्तर्गत परिक्रमा सडक, मिट क्याम्पस हुँदै क्याम्पस चोकसम्मको क्षेत्रमा कार्ड नेपालका स्वयंसेवकहरूको टोलीले समुदायसँग प्रत्यक्ष संवाद गर्दै घरदैलो कार्यक्रम सम्पन्न गर्यो ।

घरदैलोका क्रममा टोलीले सिंगल युज प्लास्टिक (एकपटकमात्र प्रयोग हुने प्लास्टिक) का हानिकारक प्रभाव, प्लास्टिकजन्य फोहोरले हुने दीर्घकालीन असर र फोहोर वर्गीकरणको महत्वबारे स्थानीय बासिन्दालाई जानकारी गरायो । साथै, टोलीले फोहर सङ्कलनका लागि डस्टबिन राख्न उपयुक्त स्थानहरू पनि चिन्हित गर्यो ।

कार्यक्रमको शुरुवात चैत्र ३० गते सम्पन्न मोडल टोल डिजाइन कार्यशाला र त्यसपछिको फलोअप बैठकसँग जोडिएको छ । कार्यशालापछि स्थानीय समुदायसँग सरसफाइ, फोहोर व्यवस्थापन र प्लास्टिक न्यूनीकरणको सम्बन्धमा गहन छलफल गरिएको थियो । सोही छलफलका आधारमा वैशाख १ गते घरदैलो कार्यक्रमको निर्णय लिइएको हो ।

कार्यक्रमका क्रममा स्थानीय युवाहरू, अगुवाहरू र महिला समूहको उल्लेखनीय सहभागिता देखियो । उनीहरूले सफा र स्वच्छ टोल निर्माणका लागि आफ्नो सहयोग र सक्रियता निरन्तर राख्ने प्रतिबद्धता पनि जनाए ।

स्थानिय बासिन्दाहरूले यस्तो अभियानले आफूहरूमा चेतना र प्रेरणा जागेको बताउँदै अभियान स्थायी होस् भन्ने चाहना व्यक्त गरे । एक स्थानियले भने, ‘पहिला यस्तो खालको पहल कहिल्यै देखिएको थिएन । अब टोलमै सरसफाइ र फोहोर व्यवस्थापनको कुरा हुन थालेको छ । हामी उत्साहित छौँ ।’

कार्ड नेपालका टिम लिडरका अनुसार सजग नागरिक बनाउने पहिलो सर्त हो— जानकारी । हामी प्रत्येक घरमा पुगेर उनीहरूलाई जानकारी मात्र दिँदैनौँ, उनीहरूसँग सहकार्य पनि गर्छौं । प्लास्टिक न्यूनीकरणजस्ता विषयहरू केवल सम्मेलनको मुद्दा होइन, यो समुदायकै सरोकार हो भन्ने सन्देश दिन चाहन्छौँ ।

जनकपुरधामजस्ता तीव्र रूपमा फैलिंदै गएको सहरमा वातावरणीय संकट गहिरिंदै गएको सन्दर्भमा यस्तो अभियानले दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ । प्लास्टिकजस्ता अविनाशी वस्तुहरूको प्रयोग घटाउनु आजको आवश्यकतामात्र नभई भविष्यका पुस्तालाई सुरक्षित वातावरण दिने हाम्रो उत्तरदायित्व हो भन्ने चेतनासमेत यस अभियानले दिन खोजेको छ ।