जनकपुरधाम, २ वैशाख । मिथिलाञ्चलमा परम्परागत रूपले मनाइने महत्वपूर्ण सांस्कृतिक पर्व ‘जुडशीतल’ आज विभिन्न धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिसहित मनाइएको छ । वैशाख सङ्क्रान्तिको अवसरमा मनाइने यो पर्वले जल, माटो, प्रकृति र सामाजिक सहकार्यको महत्वलाई उजागर गर्दै आएको छ ।

मिथिलामा दुई दिनसम्म मनाइने यस पर्वको पहिलो दिनलाई ‘सतुवाइन’ र दोस्रो दिनलाई ‘जुडशीतल’ भनिन्छ । यद्यपि, जानकारहरूका अनुसार सतुवाइन पर्व पनि जुडशीतलकै एक अङ्ग हो । विक्रम संवत् नयाँ वर्षको प्रारम्भसँगै आउने यो पर्वले नयाँपन, शीतलता, दीर्घायु र आपसी मेलमिलापको सन्देश फैलाउँछ ।

पहिलो दिन अर्थात् वैशाख १ गते सतुवाइन पर्वको अवसरमा चना, जौँ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि अनाजको सातु बनाइन्छ । त्यसलाई माटोको अङ्खरामा राखिएको सख्खरको सर्वतसँग मिलाएर सर्वप्रथम कूलदेवतालाई चढाउने परम्परा रहेको छ । त्यसपछि कूलपुरोहित, ब्राह्मण र साधु–सन्तहरूलाई दान दिई, बाँकी परिवारका सदस्यहरूले सेवन गर्छन् ।

पर्वको दोस्रो दिन अर्थात् वैशाख २ गते घरपरिवारका ज्येष्ठ सदस्यहरूले आफुभन्दा साना सदस्यहरूका शिरमा पानी सिञ्चन गरेर शीतलता, स्वास्थ्य, समृद्धि र दीर्घजीवनको कामना गर्छन् । यसरी जल छर्किने परम्पराले जीवनमा शुद्धता र शान्तिको भावना अभिव्यक्त गर्छ ।

जुडशीतल मिथिलामा घरका कूलदेवताको पूजाआराधना गरिने थोपा पर्वमध्ये एक मानिन्छ । यस अवसरमा पकाइने सबै परिकार पहिले इष्टदेवतालाई अर्पण गरिन्छ । दही, सोहिजन (सहजन)को तरकारी, चनाको बेसनबाट बनेको कढीबरी, काँचो केरा, लौका, परवल आदिसहितका परिकार मुख्य मानिन्छन् ।

गर्मी मौसमका कारण जुडशीतल पर्वमा सुपाच्य र शरीरलाई ऊर्जा दिने खानेकुराको तयारी गरिन्छ । विशेषतः दही, चनाको सातु, सोहिजनको तरकारी, बदामको पीठोबाट बनाइएको ‘बरी’ र मठाइएको दहीबाट तयार गरिने ‘कढी’ पर्वको विशेषता हो ।

पर्वको अर्को आकर्षक पक्ष हो — गाउँघरका युवाहरूले खेतबारीका रुखबिरुवामा पानी छर्किने, एक–अर्कामाथि हिलो, माटो, पानी र खरानी लगाएर पर्व मनाउने परम्परा । यो कार्य जल स्रोतको महत्व र माटोप्रतिको संवेदनशीलता दर्शाउँछ ।

तर, पछिल्लो पुस्तामा पर्वप्रतिको चेतना घट्दै गइरहेको पाइएको छ । मधेश प्रदेशका सांसद रामअशिष यादवले विगतमा जुडशीतलको अवसरमा इनार, कुवा, पोखरी सफा गर्ने अभियान चलाइने गरेको तर अहिले त्यो अभ्यास हराउँदै गएको बताए । उनले नयाँ पुस्तामा पर्वको बारेमा जानकारी दिन आवश्यक रहेकोमा जोड दिए ।

जुडशीतल पर्वको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । जनकपुरधामको प्रसिद्ध गंगासागर सरोवर क्षेत्रमा आज बिहानैदेखि स्थानीयवासीहरू भेला भई माटो दल्ने परम्परागत कार्यक्रम मनाएका छन् ।

संस्कृतिविद् डा. भोगेन्द्र झाले जुडशीतल पर्वले प्रकृति संरक्षण र सामाजिक सद्भावको सन्देश दिने पर्व भएको उल्लेख गर्दै यसको महत्व आगामी पुस्तालाई बुझाउनुपर्नेमा जोड दिए ।