वृक्षरोपणबाट नयाँ वर्षको शुरुवात

जनकपुरधाम, १ वैशाख । नयाँ वर्ष २०८२ को अवसरमा जनकपुरधाम–१२ हनुमाननगरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । ‘प्रकृति, संस्कृति, संरक्षण अभियान’ अन्तर्गत आयोजित कार्यक्रममा पाँचवटा फरक प्रजातिका बिरुवा रोप्दै हरित वातावरण र जलवायु सन्तुलनप्रति जनचेतना फैलाउने उद्देश्य लिइएको आयोजकले जनाएका छन् ।
कार्यक्रममा बर, पाखर, भलसरी, छतिवन र शिवलिङ जातका बिरुवा रोपिएको थियो । स्थानीय युवाहरू, वन कर्मचारी, धार्मिक व्यक्तित्व र सरोकारवाला नागरिकको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
वन निर्देशनालय मधेश प्रदेशका वन अधिकृत सुरेश शर्माका अनुसार विज्ञान र प्रविधिको तीव्र विकासका बाबजुद प्रकृति नै जलचक्र र जीवनचक्रको मूल आधार हो भन्ने सन्देश दिन वृक्षरोपणलाई प्राथमिकता दिइएको हो ।
‘रुखले एक मनसुनमा करोडौं लिटर पानी जमिनभित्र पठाउने वैज्ञानिक तथ्यलाई ध्यानमा राख्दै जलवायु संकटविरुद्धको सुरक्षाका लागि वृक्षरोपण आवश्यक छ,’ उनले भने । शर्माले यस्तो स्थानीय प्रयासले प्रदेशस्तरमै सकारात्मक प्रभाव पार्न सक्ने बताए ।
कार्यक्रमका सहभागीहरूले नयाँ वर्षको शुभारम्भ सकारात्मक सोच र जिम्मेवार नागरिक व्यवहारबाट गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले माता जानकीसँग ‘नयाँ सोच, हरित सोच’ को कामना गर्दै वातावरण संरक्षणमा एक जुट हुन जनसमुदायलाई आग्रह गरे ।

वृक्षरोपण कार्यक्रममा सहभागीहरूले सिंगल युज प्लास्टिकको बहिष्कार, पानीको अनावश्यक दुरुपयोग नगर्ने तथा प्राकृतिक स्रोतहरूको दिगो उपयोग गर्नुपर्ने संकल्प समेत गरेका थिए ।
कार्यक्रममा सानुभाई श्रेष्ठ, डिएफओ विनोद सिंह, प्रेम महतो, नागेश्वर यादव, हिरालाल शर्मा, सुभाष शर्मा लगायत हनुमान मन्दिरका पुजारी र स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


