‘नयाँ वर्षको बिहान : जानकी मन्दिरमा श्रद्धा र संस्कृतिको संगम’

जनकपुरधाम, १ वैशाख । नयाँ वर्ष २०८२ को पहिलो बिहान जब सूर्यले जनकपुरधामको धर्तीलाई सुनौलो स्पर्श गर्यो त्यही क्षणदेखि जानकी मन्दिरको ढोकामा श्रद्धालुको लहर लाग्न थालिसकेको थियो । मानिसहरू हातमा फूल, प्रसाद र श्रद्धा लिएर लाममा उभिए — मनमा एकै मात्र कामना बोकेर : ‘नयाँ वर्ष राम्रो होस्, घर–परिवारमा सुख शान्ति रहोस् ।’
जनकपुरधामको हृदयस्थलमा अवस्थित जानकी मन्दिर आज भक्तजनको भीडले गुञ्जायमान थियो । वर्षको पहिलो दिन प्रत्येक मुहारमा आशाको उज्यालो देखिन्थ्यो । भूतनाथ मन्दिर, राम मन्दिर, जनक मन्दिर — सम्पूर्ण क्षेत्र भरिएको थियो श्रद्धालु र पर्यटकको उपस्थितिले ।
धनुषा ट्राफिक प्रहरी प्रमुख हरिबहादुर वली भन्छन्, ‘धार्मिक जनविश्वास अनुसार नयाँ वर्षको पहिलो दिन मन्दिरमा पूजापाठ गरेमा वर्षभरि सफलता प्राप्त हुने मान्यता छ । यसैले आजको भीड असाधारण छ । ट्राफिक व्यवस्थापन गर्न हामी बिहानैदेखि खटिएका छौं ।’
बालबालिकादेखि वृद्धसम्म, टाढा–नजिकबाट आएका भक्तजनहरू जानकी मन्दिरको विशाल प्रांगणमा उभिएर आफू, आफ्नो परिवार र देशको भलोको कामना गर्दै थिए । कसैले नयनभरी माताको मुर्ती हेरे, कसैले आँखा चिम्लिएर पुराना पाप बिसाउने प्रयास गरे । यही तीर्थमा श्रद्धा र संस्कृतिको सम्मिलन देखिन्थ्यो ।
मन्दिरको छेउमै रहेको जानकी म्युजियममा समेत दर्शनार्थीको भीड लागिरह्यो । पूजापाठपछि जनकपुरधामको समृद्ध इतिहासलाई नजिकबाट बुझ्न खोज्नेहरूको लहर देखिन्थ्यो । मन्दिरमा मिथिलाकी सीता देवीको कथा, जनक वंशको गौरव, र हजारौं वर्ष पुरानो संस्कृति सुरक्षित छ । तर, यस्तो भव्यता र पवित्रता सम्हाल्न सजिलो थिएन ।
भीड व्यवस्थापन र पार्किङ समस्याले ट्राफिक प्रहरीलाई हम्मेहम्मे बनायो । आन्तरिक तथा बाह्य पर्यटकहरूको बाक्लो आवागमनले जनकपुरधामका गल्लीहरू आज विशेष बनिरहेका थिए ।
कसैले आँखामा आँशु झार्दै मनका कुराहरू सुनाए, कसैले नववर्षको शुभकामना बोकेर मन्दिरको ढोका छोए । यही हो, जनकपुरधामको आत्मा — जहाँ हरेक वर्षको शुरुवात श्रद्धा र संस्कृति सँगै हुन्छ ।
आज जानकी मन्दिरमा भीड थियो । भीडमा अनुशासन, आस्था र आत्मीयता मिसिएको थियो । नयाँ वर्षको यो पवित्र प्रभातले हरेक नेपालीको जीवनमा प्रकाश ल्याओस् — टुडेआवाज परिवारको तर्फबाट सबैलाई नयाँ वर्षको धेरै धेरै शुभकामना ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


