काठमाडौं, १ वैशाख । नेकपा एमालेले कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका सात जना व्यक्तित्वलाई ‘कम्युनिस्ट योद्धा’को रूपमा सम्मान गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसको अवसरमा सो निर्णय गरेको हो ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार यही वैशाख ९ गते मनाइने पार्टीको स्थापना दिवसका अवसरमा विभिन्न भूगोल र समुदायबाट योगदान दिएका व्यक्तित्वहरूलाई विशेष सम्मान गरिनेछ । सम्मानित हुनेमध्ये लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) रहेका छन् ।

ज्ञवालीले कम्युनिस्ट आन्दोलनमा यी व्यक्तिहरूले खेलेको भूमिका ऐतिहासिक र प्रेरणादायी रहेको उल्लेख गर्दै वर्तमान पुस्ताले यिनको योगदानबाट मार्गदर्शन लिनुपर्ने बताए । एमालेले ‘कम्युनिस्ट योद्धा’को सम्मान कार्यक्रमलाई स्थायी प्रकृति दिने तयारी गरिरहेको समेत उनले जानकारी दिए ।

साथै, सचिवालय बैठकले वैशाख ११ गतेलाई ‘गणतन्त्र उत्सव’को रूपमा देशभर भव्य रुपमा मनाउने निर्णय पनि गरेको छ । ज्ञवालीका अनुसार सो दिन नेपालमा निरंकुश राजतन्त्र अन्त्य गरी गणतन्त्रको औपचारिक विजारोपण गरिएको ऐतिहासिक दिन हो । त्यसलाई लोकतन्त्र र स्वतन्त्रताको स्मरण दिवसका रूपमा मनाइनु जरुरी छ ।

‘वैशाख ११ जनताले जितेको दिन हो,’ उपमहासचिव ज्ञवालीले भने, ‘त्यो दिन निरंकुशता विरुद्धको संघर्षको सफल परिणामस्वरूप गणतन्त्र स्थापना भएको हो । आजको पुस्तालाई त्यसको ऐतिहासिकता बुझाउन हामी काठमाडौंमा एउटा भव्य कार्यक्रम आयोजना गर्दैछौं ।’

कार्यक्रममा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहने, सांस्कृतिक प्रस्तुति, विचार गोष्ठी तथा जनसभाको आयोजना गरिने तयारी भइरहेको छ । एमालेले देशभरका जिल्ला तथा स्थानीय तहका संगठनलाई पनि उक्त दिन विविध कार्यक्रममार्फत उत्सव मनाउन निर्देशन दिएको छ ।