शिकार खेल्ने क्रममा गोली लागेर युवकको मृत्यु, तीन जना पक्राउ

कपिलवस्तु, १ वैशाख । बुद्धभूमि नगरपालिका–९ स्थित गब्दहवामा जंगली जनावरको शिकार खेल्ने क्रममा गोली लागेर एक युवकको ज्यान गएको छ । घटनापछि प्रहरीले तीन जनालाई पक्राउ गरी उनीहरूविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।
मृतक २८ वर्षीय समुन्द्र गाहा मगर गब्दहवाका स्थानीय बासिन्दा हुन् । उनी ३० चैतको दिउँसो बाख्रा चराउन र शिकार खेल्नका लागि बुद्ध यशोधरा सामुदायिक वन गएका थिए । सोही समयमा त्यही वन क्षेत्रमा शिकार खेल्न गएका अन्य व्यक्तिहरूद्वारा चलाइएको भरुवा बन्दुकको गोली लागेर गाहा गम्भीर घाइते भएका थिए ।
प्रहरीका अनुसार गाहा मगरलाई घाइते अवस्थामा शिकार खेल्न गएका दुई जनाले भैरहवा मेडिकल कलेज पुर्याएका थिए । तर, अस्पताल पुग्नेबित्तिकै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
घटनापछि ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको टोलीले शिकारमा संलग्न रहेको आरोपमा बुद्धभूमि नगरपालिका–९ का ३४ वर्षीय रामबहादुर थारू, ३६ वर्षीय कालु भनिने राम थारू र प्रवेश थारूलाई पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा प्रवेश थारू शिकारपछि बन्दुक लुकाउन सहयोग गर्ने व्यक्ति रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी निरन्जदत्त भट्टका अनुसार घटनास्थलबाट दुई थान भरुवा बन्दुक समेत बरामद गरिएको छ । पक्राउ परेकाहरूमाथि ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको छ ।
प्रहरीले घटनालाई गम्भीररूपमा लिएर वन तथा शिकारसम्बन्धी कानुनी प्रक्रिया पनि समेटेर अनुसन्धान गरिने जनाएको छ । साथै, सामुदायिक वन क्षेत्रमा यस्तो अवैध गतिविधि हुनुले वन्यजन्तु संरक्षण तथा स्थानीय सुरक्षामा समेत चुनौती उत्पन्न भएको भन्दै स्थानीय प्रशासन सतर्क बनेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


