भारतीय मिडियाको हस्तक्षेपप्रति नेपाली कांग्रेसको आपत्ति

पर्सा, १ वैशाख । भारतीय मिडियाले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै पूर्वराजाको पक्षमा प्रचारबाजी गरेको आरोप लगाउँदै नेपाली कांग्रेसका नेताहरूले पर्सा जिल्ला प्रशासन कार्यालयमार्फत आपत्ति जनाएका छन् । नेताहरूले भारतीय मिडियामाथि प्रतिबन्धको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका छन् ।
कांग्रेस नेताहरूले भारतीय मिडियाको गतिविधिले समाजमा भ्रम, उत्तेजना र द्वन्द्व सिर्जना गर्ने प्रयास गरेको आरोप लगाउँदै यस्तो संवेदनशील विषयमा राज्य संयन्त्र मौन बस्नु राष्ट्रिय स्वाभिमानविरुद्ध हुने चेतावनी दिएका छन् । उनीहरूले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै सरकारले तत्काल ठोस र कूटनीतिक कदम चाल्नुपर्ने माग गरेका छन् ।
हालै पर्सामा सम्पन्न हनुमान जयन्तीको शोभा यात्राका क्रममा उत्पन्न तनावपूर्ण घटनाले पनि कांग्रेसको ध्यानाकर्षण गराएको छ । उक्त घटनालाई लिएर कांग्रेसले शान्तिपूर्ण सहअस्तित्वमा खलल पुग्ने कार्य भएको बताउँदै त्यसमा संलग्न व्यक्तिहरूमाथि आवश्यक कानूनी कारबाही गर्न प्रशासनसँग माग गरेको छ ।
कांग्रेस नेताहरूले भनाइमा कुनै पनि बाह्य शक्तिको हस्तक्षेप नेपालको भूराजनीतिक संवेदनशीलता र आन्तरिक स्थायित्वका लागि खतरनाक हुन सक्छ । यस्ता क्रियाकलापप्रति सम्पूर्ण नेपाली एकजुट भई प्रतिकार गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनीहरूले राष्ट्रिय स्वाधीनताको पक्षमा दृढ प्रतिवद्धता जनाएका छन् ।
नेपाली कांग्रेसले यस विषयमा अन्य राजनीतिक दलहरूसँग पनि संवाद गरी राष्ट्रिय एजेन्डा तय गर्ने तयारी गरिरहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


