सिरहा, १ वैशाख । सिरहाको लहान नगरपालिका–७ स्थित क्षेत्रबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति सप्तरीको सुरुङ्गा नगरपालिका–९ का २९ वर्षीय अक्षय कुमार यादव हुन् ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानका अनुसार यादवको साथबाट ६ ग्राम ३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो । उनी मधेश प्रदेश–०१–००१ ह १८३२ नम्बरको सिटि रिक्साका चालक हुन् ।

प्रहरीले विशेष सूचनाका आधारमा निगरानी गर्दै आएको अवस्थामा यादवलाई शंकास्पद गतिविधिका कारण जाँच गर्दा रिक्साभित्र लुकाइराखिएको अवस्थामा लागुऔषध फेला पारेको जनाएको छ ।

बरामद गरिएको लागुऔषधसहित यादवलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि नियन्त्रणमा लिइएको र उनीमाथि लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरिने डिएसपी पासवानले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार पछिल्ला दिनहरूमा साना सवारी साधन तथा सार्वजनिक यातायात प्रयोग गरी लागुऔषध ओसारपसार गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । यसै सन्दर्भमा प्रहरीले विभिन्न जिल्लाहरूमा निगरानी र चेकजाँचलाई थप कडाइ गर्दै आएको जनाएको छ ।

सिरहा प्रहरीले लागुऔषध कारोबार नियन्त्रण गर्नका लागि जनसहभागिता र सतर्कता आवश्यक रहेको बताउँदै स्थानीयवासीहरूलाई शंकास्पद गतिविधि देखेमा तत्काल नजिकको प्रहरी इकाईलाई जानकारी दिन अपिल गरेको छ ।