जनकपुरधाममा सुविधासम्पन्न डिलक्स शौचालय निर्माणका लागि शिलान्यास

जनकपुरधाम, १ वैशाख । नयाँ वर्ष २०८२ को अवसर पारेर आज जनकपुरधाम उपमहानगरपालिका–१३ कवर्डहल नजिकको बजार क्षेत्रमा मधेश प्रदेश सरकार अन्तर्गत उर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालयद्वारा निर्माण गरिने सुविधासम्पन्न डिलक्स शौचालयको शिलान्यास गरिएको छ ।
उक्त शौचालय भवनको शिलान्यास प्रदेश सरकारका उर्जा, सिंचाइ तथा खानेपानी मन्त्री माननीय शेष नारायण यादवको प्रमुख आतिथ्यमा वरिष्ठ नागरिक एवम् समाजसेवी योगनारायण रायले गरेका छन् । समारोहमा वडाध्यक्ष जीतबहादुर राउत, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, समाजका बुद्धिजीवी, स्थानियबासी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री यादवले आधुनिक, स्वच्छ र जनमैत्री शौचालयको आवश्यकता झनै बढ्दो शहरजन्य जीवनशैलीसँगै बढिरहेको उल्लेख गर्दै यस प्रकारका सार्वजनिक पूर्वाधारले जनस्वास्थ्य, सरसफाइ र जीवनस्तर उकास्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले जनकपुरधाम जस्तो ऐतिहासिक र सांस्कृतिक सहरमा सरसफाइको नमूना कायम गर्न सरकार प्रतिबद्ध रहेको समेत स्पष्ट पारे ।

समाजसेवी योगनारायण रायले समाजमा सार्वजनिक सुविधाको सहज पहुँच नहुनु एक गम्भीर समस्या भएको चर्चा गर्दै सरकारको यो पहल सराहनीय रहेको बताए । वडाध्यक्ष राउतले वडामा सार्वजनिक शौचालयको अत्यधिक अभाव रहेको र आगामी दिनमा यस्ता योजनाहरु अझै विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए ।
डिलक्स शौचालय भवनमा महिला, पुरुष तथा अपाङ्गमैत्री छुट्टाछुट्टै कक्ष रहने, पिउने पानी तथा हातधुने सुविधासहित आधुनिक ढाँचाको व्यवस्थापन गरिने योजना रहेको छ । निर्माण कार्य केही महिनाभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ ।
स्थानीय बासिन्दाहरूले सार्वजनिक शौचालय निर्माणप्रति खुसी व्यक्त गर्दै यो कदमले जनकपुरधामको सफा शहर अभियानलाई थप बल पुग्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


