जनकपुरधाम, ३१ चैत । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा हिन्दू स्वयंसेवक संघ नेपालले जानकी मन्दिर प्रांगणमा भव्य दीप प्रज्वलन गरेको छ ।

नववर्षको आगमनलाई सांस्कृतिक उत्सवका रूपमा मनाउने उद्देश्यले आयोजित कार्यक्रमले मन्दिर परिसरलाई झिलिमिली उज्यालोले सजाएको थियो । सयौंको सङ्ख्यामा दीप प्रज्वलन गरिँदा धार्मिक वातावरण झनै भक्तिपूर्ण र उल्लासमय देखिएको थियो ।

हिन्दू संस्कृतिको जगेर्ना र परम्परागत उत्सवहरूको प्रवद्र्धन गर्न नियमित रूपमा यस्ता कार्यक्रम गर्दै आएको हिन्दू स्वयंसेवक संघ नेपालले जनाएको छ ।

दीप प्रज्वलन कार्यक्रममा स्थानीय बासिन्दा, श्रद्धालु तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नयाँ वर्षको स्वागतसाथै राष्ट्रिय एकता र धार्मिक सहिष्णुता सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघका प्रतिनिधिहरूले बताए ।