जनकपुरधाम, ३१ चैत । गुठी संस्थान शाखा कार्यालय जनकपुरधामले रामनारायण मिश्र स्मारक समितिलाई गंगासागर पोखरीको डिलसँग जोडिएको जग्गामा बिना नक्सा पास संरचना निमार्ण नगर्न आदेश दिएको छ । यो निर्णय गुठी संस्थानको कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यद्वारा गरिएको हो ।

समितिले गंगासागर पोखरी क्षेत्रको डिलमा संरचना निर्माण गरिरहेको बेला गुठी संस्थानले उक्त क्षेत्र धार्मिक र ऐतिहासिक महत्त्व राख्ने भएकोले यस आसपासका संरचनामा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको जनाएको छ । गुठी संस्थानका कार्यालय प्रमुख कर्माचार्यले उक्त स्थानमा पोखरी र डिलको क्षेत्रफल निर्धारण नगरी कुनै प्रकारको संरचना निमार्ण गर्नु अवैध हुने बताए ।

गुठी संस्थानको आदेश अनुसार रामनारायण मिश्र स्मारक समितिलाई सो क्षेत्रको आवश्यक मापदण्ड निर्धारण गरेपछि मात्रै कुनै निर्माण कार्य गर्न अनुमति दिइने जनाइएको छ । समितिलाई तत्काल निर्माण काम रोक्न आदेश दिइएको छ ।

यस विषयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४, जिल्ला प्रशासन कार्यालय जनकपुरधाम र अन्य सम्बन्धित निकायलाई पनि सूचित गरिएको छ ।