जसपा नेपाल जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा अशोक

जनकपुरधाम, ३१ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपाल जनकनन्दिनी गाउँपालिकाको प्रथम पालिका अधिवेशन सम्पन्न भएको छ । दुई दिनसम्म चलेको अधिवेशनको समापनसँगै वडा नम्बर ५ का वडाध्यक्ष अशोककुमार मण्डल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
शनिबार उद्घाटन सत्र र आइतबार सम्पन्न बन्द सत्रमार्फत अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्ष मण्डलको नेतृत्वमा १७ सदस्यीय पालिका समिति सर्वसम्मत चयन गरिएको जसपाले जनाएको छ ।
नयाँ टिमको अध्यक्षमा अशोककुमार मण्डल, उपाध्यक्ष मो. जाहिर शेख, सचिव गणेशकुमार गोइत, उपसचिव मन्जुर नदाफ, पिंकी देवी र कोषाध्यक्षमा सोनी यादव चयन भएका छन् ।
अधिवेशनको बन्द सत्रका प्रमुख अतिथि जसपा नेपाल धनुषाका जिल्ला सदस्य तथा गाउँपालिकाका निर्वाचित अध्यक्ष दिपिदेव यादव थिए । साथै, पूर्व अध्यक्ष राधेश्याम यादव, धर्मेन्द्र गोइतलगायत पार्टीका नेताहरू, कार्यकर्ता तथा सामाजिक अगुवाहरूको उत्साहजनक सहभागिता थियो ।

नेतृत्व चयन प्रक्रिया शान्तिपूर्ण, पारदर्शी र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको सहभागीहरूले बताए । जसपाका जिल्ला नेता यादवले नवनिर्वाचित अध्यक्ष अशोककुमार मण्डल तथा सम्पूर्ण टिमलाई बधाई दिँदै पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउने दिशामा सक्रिय भूमिका निर्वाह गर्न सुझाव दिए ।
गाउँपालिकास्तरीय अधिवेशनमार्फत जसपाले आफ्नो संगठनलाई स्थानीय तहसम्म मजबुत बनाउने रणनीति अघि सारेको छ । अधिवेशनलाई पार्टीभित्र एकताको सन्देश दिन सफल कार्यक्रमका रूपमा लिइएको छ । अध्यक्ष मण्डलले पनि आफूले पाएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिवद्धता जनाए ।
उनले भने, ‘जनकनन्दिनीको हरेक वडामा पार्टीलाई संस्थागत रूपमा विस्तार गर्ने, युवालाई नेतृत्वमा ल्याउने र जनसमस्यालाई राजनीतिक प्राथमिकतामा राख्ने हाम्रो लक्ष्य हुनेछ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


