प्रमुख प्रशासकीय अधिकृतमाथि आर्थिक अनियमितताको आरोप, उपाध्यक्षसहित सात सदस्यद्वारा सरुवाको माग

जनकपुरधाम, ३१ चैत । धनौजी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शर्माको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपाध्यक्ष रामवती देवी मण्डलसहित सात जना कार्यपालिका सदस्यहरूले तत्काल सरुवाको माग गरेका छन् ।
उनीहरूले गाउँपालिका अध्यक्षसमक्ष बुझाइएको एक संयुक्त निवेदनमार्फत शर्मामाथि आर्थिक अनियमितता, अधिकारको दुरुपयोग र गैरजिम्मेवार व्यवहारको आरोप लगाएका छन् । सो निवेदनको बोधार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौँमा समेत पठाइएको जानकारी गराइएको छ ।
कार्यपालिका सदस्यहरूको दाबी अनुसार प्रमुख प्रशासकीय अधिकृत शर्माले कार्यालयका विभिन्न शीर्षकमा रकम हिनामिना गरेका छन् । त्यसको प्रमाण खर्च विवरण तथा आन्तरिक लेखापरीक्षण प्रतिवेदनबाट स्पष्ट देखिएको छ ।
‘हामीले पटक–पटक मौखिक तथा लिखित रूपमा ध्यानाकर्षण गराउँदा पनि उहाँको कार्यशैलीमा कुनै सुधार देखिएन । उल्टै आर्थिक गतिविधिमा अपारदर्शिता झनै बढ्दै गयो,’ निवेदनमा उल्लेख गरिएको छ ।

उनीहरूले लेखेका छन्, ‘गाउँपालिकाको सेवा प्रवाहमा बाधा पुग्ने गरी प्रशासकीय प्रमुखले स्वेच्छाचारी रवैया अपनाएको देखिएकोले तत्काल सरुवाको माग गर्नु परेको हो ।’
गाउँपालिकाको संस्थागत सुशासन, पारदर्शिता र जनउत्तरदायी प्रशासनको मर्म विपरीत प्रशासकीय प्रमुखको भूमिका रहेको आरोप पनि निवेदनमार्फत गरिएको छ । स्थानीय प्रतिनिधिहरूले विकास निर्माणका बजेट, कार्यक्रम कार्यान्वयन, भुक्तानी प्रक्रियालगायतका गतिविधिमा प्रशासकीय प्रमुखले मनोमानी गरेको र कुनै पनि निर्णयमा निर्वाचित जनप्रतिनिधिको सहमति नलिएको उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


