गंगासागर डिलमा रामनारायण स्मृति भवनको निर्माण विवाद चुलिँदै : एमाले र कांग्रेसबीच आरोप–प्रत्यारोप

जनकपुरधाम, ३१ चैत । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मा पर्ने गंगासागर डिलमा निर्माणाधीन स्व. रामनारायण मिश्र स्मृति भवनको विषयमा दुई प्रमुख राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूबीच आरोप–प्रत्यारोप चर्किएको छ । राष्ट्रिय विभूति घोषित नेता रामनारायण मिश्रको स्मृतिमा बनिरहेको यो भवनले स्थानीय राजनीति, सार्वजनिक जग्गा व्यवस्थापन र सांस्कृतिक भावनालाई समेत केन्द्रमा ल्याएको छ ।
नेकपा एमालेका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले स्वर्गीय रामनारायण मिश्रजस्तो व्यक्तित्वलाई राजनीतिमा तान्न खोजिएको भन्दै तीव्र असन्तोष व्यक्त गरेका छन् ।
‘रामनारायण मिश्र कुनै पार्टीको मात्रै नभई राष्ट्रिय विभूति हुन्,’ ठाकुरले भने, ‘उहाँको नाममा विश्वविद्यालय, सांस्कृतिक केन्द्र जस्ता ठूला संरचना बन्नुपर्नेमा कांग्रेसले डेढ/दुई धुर जग्गामा जबर्जस्ती शालिक बनाएर उहाँलाई विवादमा पार्न खोजेको छ ।’
उनले जनकपुरधाम उपमहानगरपालिकामाथि पनि आरोप लगाउँदै भने, ‘जनताको जग्गामा नक्सा पास नगर्ने तर कुनै समिति बनाइ त्यसको नाममा जबर्जस्ती पास गर्नु नगरपालिकाको बदमासी हो ।’
ठाकुरका अनुसार गंगासागर क्षेत्रमा पहिला बाटो बनाउने आवश्यकता थियो । तर, शालिक निर्माणको नाममा विवाद सिर्जना गरिएको हो । उनले स्मृति भवनको सट्टा ‘रामनारायण मिथिला सांस्कृतिक केन्द्र’ जस्ता संरचना निर्माण हुनुपर्ने धारणा व्यक्त गरे ।

‘एमालेलाई बदनाम गरेर पछि हटाउने प्रयास भइरहेको छ । तर, एमाले पछि हट्ने पार्टी होइन । बरु कांग्रेसका नेताहरूलाई आफ्नो क्षेत्र जोगाउन गाह्रो पर्न सक्छ,’ ठाकुरले चेतावनी दिँदै भने ।
यता, नेपाली कांग्रेसका युवा नेता जीवनाथ चौधरीले स्मृति भवन निर्माणका विषयमा आएका विरोधहरूलाई निरर्थक भनेका छन् । उनले स्मृति भवन समाजकै हितका लागि निर्माण भइरहेको दाबी गर्दै यसलाई कसैले पनि रोक्न नसक्ने जिकिर गरे ।
‘यो कुनै व्यक्तिगत परियोजना होइन,’ चौधरीले भने, ‘भवन समाजको लागि बनिरहेको छ र समाज यसको पक्षमा छ ।’
चौधरीले स्मृति भवनको निर्माण प्रक्रिया कानुनीरूपमै अघि बढिरहेको दाबी गर्दै थपे, ‘२०७९ माघमा नक्सा पास गरिएको हो । निर्माण कार्यका लागि २०८२ फागुन २८ गतेसम्मको समय दिइएको छ । ५ करोड ७४ लाख ९६ हजार १२२ रुपैयाँमा कर्मा बाबा जेभी जलेश्वरले ठेक्का पाएको छ ।’

उनले यस टेन्डर प्रक्रिया एमालेकै भौतिक निर्माणमन्त्रीको कार्यकालमा भएको बताए । ‘अब आएर एमालेले विरोध गर्नु हास्यास्पद छ,’ चौधरीले टिप्पणी गरे ।
साथै, उनले धनुषासागर घाटमा क्लबको भवन निर्माण हुँदा कुनै विरोध नउठेको, तेलहा मरहा पोखरी वरपर अवैध संरचनाहरू बनेका बेला विरोध नदेखाएको प्रसंग उठाउँदै भने, ‘विकास विरोधी मानसिकताले यस्ता विरोध गरिँदैछ । सार्वजनिक काममा नकारात्मक राजनीति नगर्नुस् ।’
स्व. रामनारायण मिश्रको नाममा जनकपुरधामको गंगासागर डिल क्षेत्रमा निर्माणाधीन स्मृति भवनले राजनीतिक र सामाजिक तहमा बहस उत्पन्न गराएको छ । एकातर्फ एमाले नेता यसलाई जबर्जस्ती गरिएको विवादास्पद परियोजना भन्दै आलोचना गरिरहेका छन् भने अर्कातर्फ कांग्रेस नेता यसलाई जनहितमा गरिएको विकास निर्माण ठान्दै अघि बढाउन दृढ छन् ।

विवाद चर्किए पनि मिश्रजस्ता साझा विभूतिहरूको नाममा हुने संरचनात्मक काममा राजनीतिक सहमति र पारदर्शिता नहुन्जेल यस्ता परियोजना अझै अन्योलमा पर्ने सम्भावना देखिन्छ । यसैले, स्थायित्व र सहमतिको राजनीतिले मात्रै यस्ता बहसको सकारात्मक निकास दिन सक्ने स्थानीयको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


