मधेशमा मंगलबार सार्वजनिक विदा

जनकपुरधाम, ३१ चैत । मधेश प्रदेश सरकारले आउँदो वैशाख २ गते मंगलबार सिरुवा (जुडशितल) पर्वको अवसरमा सम्पूर्ण प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले चैत ३१ गते एक सूचना प्रकाशित गर्दै सो दिन सार्वजनिक विदा लागू हुने जानकारी गराएको हो ।
मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशित सूचनामार्फत सिरुवा पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वलाई मध्यनजर गर्दै सम्पूर्ण मधेशवासीलाई विदा दिने निर्णय गरिएको उल्लेख गरेको छ । मन्त्रालयका शाखा अधिकृत दिपेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबै सरकारी तथा सार्वजनिक संस्थाहरू, कार्यालयहरू, शैक्षिक संस्था र नागरिकलाई विदाको जानकारी गराइएको छ ।
सिरुवालाई जुडशितल पर्व पनि भनिन्छ । विशेषतः मिथिला क्षेत्रका जनताले नयाँ वर्षको सुरुवातमा पानी छर्केर एकआपसमा शुभकामना दिने सांस्कृतिक परम्परा हो । यस पर्वमा पवित्रता, शीतलता र सामाजिक सद्भावको सन्देश फैलाउने मान्यता छ । घरको चोक, आँगन, देवता र बृद्धबृद्धालाई शुद्ध पानी छर्केर सम्मान प्रकट गरिन्छ ।

प्रदेश सरकारले सार्वजनिक विदा दिँदै मधेशको मौलिक संस्कृति र परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने प्रयासस्वरूप यो कदम चालेको बताइएको छ ।
मधेश प्रदेशमा विशेषगरी जनकपुरधाम, महोत्तरी, सर्लाही, रौतहट, पर्सा, बारा, सिरहा र सप्तरी जिल्लामा सिरुवाको व्यापक धार्मिक र सामाजिक प्रभाव रहँदै आएको छ । यस दिन परम्परागत रूपमा समाजका जेठाजेष्ठा सदस्यलाई श्रद्धा व्यक्त गर्दै पानी छर्किन्छ । साथै, विभिन्न ठाउँमा मठमन्दिरहरूमा विशेष पूजा, कीर्तन, सांस्कृतिक कार्यक्रम तथा सामाजिक मेलमिलाप हुने परम्परा छ । यसलाई हिन्दू धर्मअनुसार धार्मिक नयाँ वर्षको एक प्रकारको स्वागत पर्वका रूपमा पनि लिने गरिन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


