जनकपुरधाम, ३१ चैत । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्त्वको गंगासागर डिल क्षेत्रमा भइरहेको निर्माण कार्यलाई लिएर उत्पन्न विवाद चुलिँदै गएको छ । यस विषयमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले आपत्ति जनाउँदै समस्या समाधानका लागि सबै सरोकारवालालाई समेटेर सर्वपक्षीय सहमतिको खोजी गर्न आग्रह गरेको छ ।

परिषद्का अध्यक्ष शीतल साहले एक प्रेस विज्ञप्ति जारी गर्दै गंगासागर क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा तोकिएको स्मरण गराए । सो विज्ञप्तिमा रामनारायण मिश्रको नाममा निर्माणाधीन अत्याधुनिक भवन तथा पुस्तकालयसम्बन्धी विवाद कुनै एक पक्षको बलमिचाइका आधारमा हल गर्न खोज्नु उपयुक्त नहुने उल्लेख छ ।

‘रामनारायण मिश्र मधेशकै साझा विभूति हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँको योगदानप्रति सबै समुदायले समान रुपमा सम्मान जनाउनुपर्छ । त्यसैले विवादको समाधान सबै पक्षलाई समेटेर सहमतिमा पुगेर गर्नुपर्छ ।’

परिषद्ले २०६२ सालमै गंगासागर र धनुषासागर क्षेत्रलाई संरक्षित क्षेत्रको रूपमा घोषित गरिएको र त्यसपछि त्यहाँ कुनै पनि किसिमको निर्माण कार्य गर्नुअघि परिषद्को स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ ।

‘वृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन २०५५ को दफा १४ अनुसार संरक्षित स्थलहरूमा परिषदको स्वीकृति विना कुनै पनि निर्माण कार्य गर्न पाइँदैन,’ अध्यक्ष साहले भने, ‘तर उपमहानगरपालिकाले यो कानुनको उल्लंघन गर्दै पटक–पटक संरक्षित क्षेत्रमा अवैधानिक रूपमा निर्माण अनुमति दिँदै आएको छ । यो गैरकानुनी मात्र नभई जनअपेक्षाविपरीत पनि हो ।’

परिषद्ले ऐन विपरीत अनुमति दिइएको निर्माण कार्य तत्काल रोक्न माग गरेको छ । साथै, सार्वजनिक सम्पत्तिको संरक्षण र धार्मिक–ऐतिहासिक क्षेत्रहरूको सम्मानमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने औंल्याउँदै समाधानका लागि तत्काल सर्वपक्षीय बैठक बोलाउन उपमहानगरपालिकालाई आग्रह गरिएको छ ।