पर्सा, ३१ चैत । वीरगंजमा शनिबार हनुमान जयन्तीका अवसरमा आयोजित शोभायात्राका क्रममा उत्पन्न तनावलाई साम्य पार्न आइतबार बिहान प्रशासनको संयोजनमा सर्वदलीय बैठक बसेको छ । बैठकले शान्ति, सद्भाव र कानुनी शासनको पक्षमा तीन बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै आम नागरिकहरूलाई संयमित र जिम्मेवार रहन अपिल गरेको छ ।

वीरगंजस्थित जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल प्रहरी पर्साका प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरीका प्रमुख एसपी राधेश्याम धिमाल, नेपाली सेनाका श्री श्री जंग गणका प्रतिनिधि तथा विभिन्न राजनीतिक दलका जिल्ला अध्यक्ष एवम् शोभायात्रा आयोजक समितिका प्रतिनिधिहरू सहभागी थिए ।

बैठकले शोभायात्राको क्रममा विवाद र ढुंगामुढा जस्ता हिंसात्मक गतिविधि भड्काउने जो–कोही भए पनि पहिचान गरेर कानुनी दायरामा ल्याउनुपर्ने निर्णय लिएको छ । ‘धार्मिक, जातीय वा साम्प्रदायिक सद्भाव भंग गर्ने कार्य स्वीकार्य हुँदैन । अपराधी जेसुकै समुदाय वा समूहको किन नहोस्, कारबाही हुन्छ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

बैठकले तीन बुँदामा एकमत भएर प्रतिबद्धता जनाएको छ । शान्ति र सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि धार्मिक वा सामुदायिक ¥याली, बन्द वा अन्य कार्यक्रम संघ–संस्था वा समुदायले नगर्ने, शनिबारको विवादमा घाइते भएका सुरक्षाकर्मी, सञ्चारकर्मी र सर्वसाधारणको उपचार सरकारकै खर्चमा हुने व्यवस्था मिलाउने र धार्मिक सौहार्द कायम राख्न सबै आम नागरिकलाई संयमित र जिम्मेवार व्यवहार गर्न अपिल गरिने निर्णय गरिएको हो ।

बैठकमा कांग्रेसका कार्यवाहक जिल्ला अध्यक्ष रामनारायण कुर्मी, एमालेका विश्वम्भर शर्मा, माओवादीका विजय महतो, जसपा नेपालका रामनरेश यादव, जसपाका तवरेज अहमद, आम जनता पार्टीका भोला पटेल, जनमत पार्टीका ओमप्रकाश सर्राफलगायतका नेता उपस्थित थिए । शोभायात्रा आयोजक तर्फबाट दीपक पटेल र अभिषेक तिवारी सहभागी थिए ।

नेताहरूले कुनै पनि पक्षबाट उक्साहट वा उत्तेजक व्यवहार नगरिनुपर्नेमा जोड दिँदै सबै पक्षले संयमता अपनाउनु नै अहिलेको आवश्यकता रहेको बताए ।

प्रशासनले सर्वदलीय बैठकपछि स्थानीय मुस्लिम अगुवाहरूसँग छुट्टै संवाद गर्ने तयारी गरेको छ । स्रोतका अनुसार त्यसपछिको समग्र मूल्यांकन गर्दै पुनः सर्वपक्षीय बैठक डाकिनेछ ।