जनकपुरधाम, ३१ चैत । वीरगंजमा हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभायात्रामाथि ढुंगा प्रहार भएको घटनाको विरोध जनकपुरधाममा पनि चर्किंदै गएको छ । राष्ट्रिय एकता अभियानको अगुवाइमा जनकपुरधाममा आयोजित विरोध प्रदर्शनमा सहभागीहरू आक्रोशित देखिए ।

प्रदर्शनकारीहरूले गृहमन्त्रालयको भूमिकालाई निष्क्रिय भन्दै गृहमन्त्रीको पुतला दहन गरेका थिए । ‘धार्मिक स्वतन्त्रता माथि आक्रमण भएको बेला पनि सरकारले अपराधीलाई संरक्षण गरिरहेको छ,’ अभियानका प्रतिनिधि दीपक साहले भने, ‘यो कुनै सामान्य घटना होइन, मुलुकको सहिष्णुता, शान्ति र धार्मिक सद्भाव माथिको सीधा आघात हो ।’

प्रदर्शनमा सहभागीहरूले ‘सर्वपक्षीय बैठकको नाटक बन्द गर’, ‘दोषीलाई तत्काल गिरफ्तार गर’ जस्ता नारासहित सडकमा आक्रोश पोखेका थिए । उनीहरूले शोभायात्रामाथिको आक्रमण निन्दनीय मात्र नभई संविधान प्रदत्त धार्मिक स्वतन्त्रताको उल्लंघन भएको दाबी गरे ।

प्रदर्शनकारीहरू सघन नाराबाजीसहित जनकपुरधामको विभिन्न क्षेत्रमा जुलुससहित हिँडेका थिए । उनीहरूले सुरक्षाको नाममा अपराधीलाई जोगाउने र धार्मिक भावनालाई चोट पुर्याउने कार्य असह्य रहेको बताए ।

अभियानका एकजना प्रतिनिधिले भने, ‘यदि छिटोभन्दा छिटो दोषीहरूलाई कानूनी दायरामा ल्याएर कारबाही गरिएन भने देशभर कडा आन्दोलन गरिनेछ । धार्मिक आस्थामाथि गरिएको यस्तो अराजक गतिविधिको जस्तोसुकै मूल्य चुकाउन सरकार तयार रहोस् ।’