पाठ्यपुस्तकमा एकरूपता अनिवार्य, जनकपुरधामका सबै संस्थागत विद्यालयले अब एकै किसिमका पुस्तक पढाउने

जनकपुरधाम, ३१ चैत । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत विद्यालयमा आगामी शैक्षिक सत्र २०८२ देखि एकरूप पाठ्यपुस्तक लागू गरिने भएको छ । नगर शिक्षा समिति, शिक्षा तथा खेलकुद विकास शाखा र विद्यालयहरुको छाता संगठनहरुको सिफारिसमा आएको यस निर्णयलाई उपमहानगरले अनिवार्य रूपमा लागू गर्न लागेको हो ।
शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले भने, ‘यसअघि विद्यालयहरुले पाठ्यपुस्तक विवरण समयमै नपठाएको र पाठ्यपुस्तकमा विविधता हुँदा शिक्षा गुणस्तरमा असमानता देखिएको थियो । विद्यार्थीहरुलाई समान अवसर, समान गुणस्तरको शिक्षा प्रदान गर्न अब पाठ्यपुस्तकमा एकरूपता आवश्यक छ ।’
नगर शिक्षा समिति सदस्य तथा निजी विद्यालय संचालकहरुको संगठन एनप्याबसनका नगर अध्यक्ष दीपक ठाकुरले यस निर्णयको स्वागत गर्दै भने, ‘शिक्षामा भेदभाव अन्त्य गर्नु आजको आवश्यकता हो । सबै विद्यार्थी एउटै पाठ्यपुस्तकबाट पढ्दा सिकाइको मापदण्ड बराबरी हुन्छ । मूल्यांकनमा पारदर्शिता आउँछ र शिक्षण प्रक्रियामा सुधार हुन्छ ।’
उनले थपे, ‘पछिल्लो समयमा शिक्षा व्यापारिकरणतर्फ गएको छ भन्ने गुनासोहरु बढेका छन् । अब पाठ्यपुस्तक एकरूपता लागू भएपछि त्यो धारणा पनि क्रमशः अन्त्य हुने अपेक्षा छ ।’

उपमहानगरले पाठ्यपुस्तकको छनौटमा पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पुस्तक मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । साथै, विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त सहकार्यमा मात्र यसको प्रभावकारी कार्यान्वयन सम्भव हुने शिक्षा शाखाले स्पष्ट पारेको छ ।
यस निर्णयको अवज्ञा गरेमा कानुनी कारवाही गरिने समेत सूचनामा उल्लेख छ । शिक्षा शाखा प्रमुख कर्णले भने, ‘हामी अनुगमन गर्छौं । यदि कसैले बेवास्ता गरेमा स्थानीय सरकार शिक्षा ऐनअनुसार आवश्यक प्रक्रिया अघि बढाउनेछ ।’
नगरभित्रका संस्थागत, सार्वजनिक गुठी तथा निजी गुठी अन्तर्गतका सबै विद्यालयहरुले अब स्वीकृत पाठ्यपुस्तकमात्र प्रयोग गर्नु पर्नेछ ।
यस निर्णयपछि अभिभावकहरुलाई समेत राहत हुने अपेक्षा गरिएको छ । विभिन्न विद्यालयहरुले फरक–फरक पुस्तक र त्यससँग सम्बन्धित शैक्षिक सामग्रीको नाममा अतिरिक्त आर्थिक भार पार्ने गरेको गुनासो लामो समयदेखि आइरहेको थियो ।







तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


