जनकपुरधाम, ३० चैत । जनकपुरधामस्थित मोनाष्टिक क्याम्पसमा कक्षा १२ (विज्ञान, कानून, शिक्षा तथा व्यवस्थापन संकाय (सेक्शन के र एल) का विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच बिदाइ गरिएको छ । कार्यक्रम क्याम्पसका निर्देशक डा. सोनु साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त अवसरमा कक्षा ११ का विद्यार्थीहरूले आकर्षक सांस्कृतिक कार्यक्रममार्फत आफ्नो स्नेह र सम्मान प्रकट गरे । नृत्य, गीतलगायतका कार्यक्रमहरूले उपस्थित शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई भावुक बनायो ।

विदाई कार्यक्रममा सम्बोधन गर्दै क्याम्पस निर्देशक डा. साहले भने, ‘विद्यार्थीहरूलाई शिक्षा मात्र होइन, जीवनमा आवश्यक पर्ने मूल्य, अनुशासन र मानवीयता सिकाउनु नै मोनाष्टिक क्याम्पसको मूल लक्ष्य हो । हामीले तयार पारेका हरेक विद्यार्थी भविष्यमा आफ्नो क्षेत्रका उत्कृष्ट नागरिक बन्न सकोस् भन्ने हाम्रो चाहना छ ।’

उनले थपे, ‘यो विदाई मात्र शैक्षिक यात्रा समाप्त भएको सूचक होइन, अब उनीहरूको अगाडि विशाल भविष्यको ढोका खुलेको छ । क्याम्पसले दिएको शिक्षा र मूल्यहरूले उनीहरूलाई सदैव मार्गदर्शन गर्नेछ ।’

विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टता पुरस्कार, खेलकुदमा प्राप्त उपलब्धिका लागि पदक र प्रमाणपत्रहरू प्रदान गरियो । मायाको चिनोस्वरूप प्रत्येक विद्यार्थीलाई स्मृतिचिन्हसमेत प्रदान गरिएको थियो ।

शिक्षकहरू पनि कार्यक्रममा सहभागी भई आफ्ना विद्यार्थीप्रतिको माया र गर्व प्रकट गर्दै शुभकामना दिएका थिए । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कक्षा ११ का विद्यार्थी र व्यवस्थापन समितिको सक्रिय सहकार्यमा सम्पन्न भएको थियो ।

विदाई कार्यक्रम भावनात्मक र उल्लासपूर्ण दुवै रुपमा समापन भएको थियो । क्याम्पस प्रशासनले सबै विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै उनीहरूको जीवन यात्रामा सुख, समृद्धि र अनगिन्ती अवसरहरूको कामना गरेको थियो ।