वीरगञ्जमा १८ घण्टाका लागि कर्फ्यू

पर्सा, ३० चैत । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र शनिबार साँझदेखि आइतबार दिउँसोसम्म निषेधाज्ञा लागू गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनाअनुसार आज साँझ ६ः३० बजेदेखि भोलि दिउँसो १२ बजेसम्म वीरगञ्जको विशेष चार किल्लाभित्र १८ घण्टे कर्फ्यू आदेश जारी गरिएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको आदेशअनुसार कुनै पनि व्यक्ति वा समूहले उक्त क्षेत्रभित्र आवतजावत गर्न, सभा, जुलुस, प्रदर्शन र घेराउ गर्न सक्ने छैनन् ।
प्रशासनले तोकेको निषेधाज्ञा क्षेत्र यसप्रकार छ :
पूर्वतर्फः भेडियाही चौक– वीरगञ्ज महानगरपालिका–१५
पश्चिमतर्फः सिर्सिया पुल– वीरगञ्ज महानगरपालिका–२५
उत्तरतर्फः गण्डक चौक– वीरगञ्ज महानगरपालिका–१४
दक्षिणतर्फः शंकराचार्य गेट– वीरगञ्ज महानगरपालिका–१६
उक्त परिधिभित्र कडा सुरक्षा व्यवस्था मिलाइएको छ । सुरक्षाकर्मीहरूलाई व्यापक परिचालन गरिएको छ भने सर्वसाधारणलाई अनावश्यक रूपमा बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । सम्भावित झडप रोक्नका लागि प्रशासनले अग्रिम सुरक्षा सतर्कता अपनाएको छ ।

सिडिओ गणेश अर्यालले जनताको सुरक्षालाई प्राथमिकता दिँदै कर्फ्यू आदेश जारी गरिएको उल्लेख गर्दै सर्वसाधारणसँग संयमित रहन र प्रशासनलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले भने, ‘यो आदेश शान्ति, सुरक्षा र सार्वजनिक हितको लागि जारी गरिएको हो । कृपया घरमै बसौं, अफवाहमा नलागौं र कुनै पनि अवाञ्छित गतिविधिमा सहभागी नहुनुहोस् ।’
कफ्र्यू अवधिमा एम्बुलेन्स, अस्पताल जाने बिरामी, पत्रकार, विद्युत्, खानेपानी, टेलिकम र फोहोरमैला व्यवस्थापन जस्ता अत्यावश्यक सेवामा संलग्न सवारी साधन तथा कर्मचारीको परिचालनमा सिडिओको अनुमति वा आवश्यक परिचयपत्रको आधारमा छुट दिइने प्रशासनले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


