मुख्यमन्त्री सिंहको सडकमै अनुगमन

बारा, ३० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शुक्रबार एक अनपेक्षित अनुगमन गर्दै बाराको निजगढ क्षेत्रमा सञ्चालनमा रहेका गैरकानुनी अस्पताल, क्लिनिक र औषधि पसलहरू बन्द गराएका छन् । वीरगञ्जमा सम्पन्न एक कार्यक्रममा सहभागी भएर जनकपुर फर्किंदै गर्दा उनले निजगढ बजार क्षेत्रमा अचानक आफ्नो सवारी रोकेर अनुगमन थालेका थिए ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत निजगढ नगरपालिका क्षेत्रका विभिन्न मेडिकल सेन्टर, फार्मेसी र अस्पतालमा पुगेका मुख्यमन्त्री सिंहले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरवाही र अवैध सञ्चालन कुनै हालतमा स्वीकार्य नहुने बताए ।
मुख्यमन्त्री सिंहसँगै रहेका मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत सन्तोष ठाकुरका अनुसार अनुगमनको क्रममा मोहम्दी मेडिसिन सेन्टर, सामा फार्मेसी, मिश्रा मेडिकल सेन्टर र सिद्धार्थ मेडिकल हल जस्ता फार्मेसीहरूबाट भित्र अस्पताल सेवा सञ्चालन भइरहेको पाइयो ।
‘बाहिर औषधि पसल, भित्र एक्स–रे, ल्याब, इमर्जेन्सी सेवा, बिरामी भर्नासम्मको सुविधा ! यसरी स्वास्थ्य प्रणालीसँग खेलबाड गरिएको छ,’ अधिकृत ठाकुरले भने । उनका अनुसार दुईवटा अस्पताल, तीनवटा डेन्टल क्लिनिक र चारवटा फार्मेसी तुरुन्तै बन्द गराइएको छ ।
अनुगमनपश्चात संक्षिप्त पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री सिंहले भने, ‘स्वास्थ्य जनताको अधिकार हो । यसमा सम्झौता गर्ने छुट कसैलाई छैन । मापदण्डविपरीत सञ्चालन हुने स्वास्थ्य संस्थाले नागरिकको ज्यानसँग खेलिरहेको हुन्छ । अब यस्ता गतिविधिलाई प्रदेश सरकारले कडाइका साथ नियन्त्रण गर्छ ।’
मुख्यमन्त्रीको निर्देशनपछि निजगढ–८ शहीद चोकस्थित जीवनदान अस्पताल र निजगढ–९ बकैया टोलको निजगढ सिटी अस्पताल पनि बन्द गराइएको छ । ती दुवै अस्पतालले इजाजत र कानुनी प्रक्रिया बिना नै सेवा दिइरहेको पाइएको हो ।
अनुगमनको क्रममा नारायणी दन्त सेवा केन्द्र, निजगढ डेन्टल क्लिनिक (लायन्स चोक) र कान्ता डेन्टल मेडिकल (निजगढ–७) मा पनि आवश्यक मापदण्ड नपुगेको पाइएपछि सेवा बन्द गर्न निर्देशन दिइएको छ ।
मुख्यमन्त्री सिंहले भने, ‘अबदेखि कुनै पनि अस्पताल वा क्लिनिक सञ्चालन गर्नु छ भने प्रदेश सरकारको मापदण्ड पालना अनिवार्य छ । यसमा कुनै पनि लापरवाही जनताको स्वास्थ्यसँग खेलबाड हो । यस्तो बेथितिको अन्त्य गर्न निरन्तर अनुगमन हुनेछ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


