जनकपुरधाम, ३० चैत । धनुषा जिल्लाको सबैभन्दा दुर्गम र पिछडिएको क्षेत्र मानिने जनकनन्दिनी गाउँपालिकामा जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्रथम गाउँपालिका अधिवेशन शनिबार सम्पन्न भएको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार देशभर भइरहेको संगठन सुदृढीकरण अभियान अन्तर्गत वडा, पालिका हुँदै जिल्ला अधिवेशनतर्फ अघि बढिरहेको जसपाले जनकनन्दिनीमा पनि सशक्त उपस्थिति देखाएको छ ।

अध्यक्ष राधेश्याम यादवको अध्यक्षतामा आयोजित अधिवेशन उद्घाटन सत्रमा पार्टीका शीर्ष नेताहरूको उल्लेखनीय उपस्थिति रह्यो । जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य अरुणसिंह मण्डल प्रमुख वक्ताका रूपमा उपस्थित रहे भने मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवले विशिष्ट वक्ताका रूपमा सम्बोधन गरे ।

त्यस्तै, मधेश प्रदेशकी सांसद तथा जसपा प्रदेश सदस्य ममता मण्डल, जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष ललित मण्डल, गाउँपालिका अध्यक्ष दिपिनदेव यादव, युवा उपमहासचिव अशोक मण्डल, प्रदेश युवा सचिव दिपेन्द्र कापरीलगायत नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी नेताहरूले जसपा नेपालको संगठन गाउँगाउँसम्म विस्तार भएको र यो अधिवेशनले गाउँ तहमा राजनीतिक चेतना अभिवृद्धिमा टेवा पुर्याउने बताए । अरुणसिंह मण्डलले पार्टीको संगठनलाई बलियो बनाउँदै अबको प्राथमिकता जनताको पक्षमा नीतिगत लड़ाइँ लड्ने रहेको बताए ।

उनले भने, ‘जसपा अब संगठन मात्र होइन, सशक्त वैकल्पिक शक्ति बन्ने यात्रामा छ,’ उनले भने, ‘हामी गाउँ–गाउँको समस्या बुझेर समाधानको बाटो निर्माण गर्न चाहन्छौं ।’

प्रदेश अध्यक्ष बालकिशोर यादवले मधेश आन्दोलनको जग गाउँमा रहेको उल्लेख गर्दै आन्दोलनको भावनालाई संस्थागत गर्न जनस्तरको सहभागिता आवश्यक रहेको बताए । सांसद ममता मण्डलले महिलाको सहभागिता, शिक्षा र स्वास्थ्यको पहुँच वृद्धि तथा स्थानीय तहलाई सशक्त बनाउने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष पशुपति यादवले भने, ‘जसपा नेपाल अब संगठनात्मक रूपमा पुरानोलाई सुधारेर नयाँ पुस्तालाई जिम्मेवारी दिने दिशामा अघि बढिरहेको छ । जनकनन्दिनीको जस्तो दुर्गम ठाउँबाट पनि हामीले स्पष्ट संकेत दिएका छौं कि परिवर्तनका लागि हामी तयार छौं ।’