२० करोडको लागतमा निर्मित धर्मशाला भवनको उद्घाटन

जनकपुरधाम, ३० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथनगरमा नवनिर्मित पाँचतले पक्की धर्मशाला भवनको उद्घाटन गरेका छन् । मिथिला अवध सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामको आयोजनामा आयोजित एक विशेष समारोहबीच हनुमान जयन्तीको अवसर पारेर उक्त भवनको उद्घाटन गरिएको हो ।
परिषद्का अध्यक्ष डा. गौराङ मिश्रका अनुसार करिब २० करोड रुपैयाँको लागतमा नेपाल र भारतका विभिन्न सामाजिक संघसंस्था तथा धार्मिक व्यक्तित्वहरूको सहयोगमा सो भवन निर्माण गरिएको हो । दशरथ नगरको २२ कट्ठा क्षेत्रफलमा फैलिएको धर्मशालामा सभा भवन, पक्की भान्सा घर, आधुनिक शौचालय, पार्किङ क्षेत्र लगायतका सुविधा समावेश गरिएको छ ।
धार्मिक पर्यटन प्रवद्र्धनमा बल उद्घाटन समारोहमा मुख्यमन्त्री सिंहले जनकपुरधामको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई अझै व्यवस्थित र सशक्त रुपमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । ‘भगवान् श्रीरामको जन्मभूमि अयोध्या पुगेका तीर्थयात्रीले जनकपुरस्थित माता सीताको जन्मस्थलको दर्शन गर्नुपर्ने धार्मिक मान्यता छ,’ मुख्यमन्त्री सिंहले भने, ‘त्यसैले जनकपुरधामको प्रचारप्रसार र आकर्षक व्यवस्थापन आवश्यक छ ।’
मुख्यमन्त्री सिंहले धार्मिक पर्यटकहरूलाई आकर्षित गर्न धर्मशाला जस्ता पूर्वाधारहरूको स्तरोन्नति, गुणस्तरीय सेवा, सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्ने बताए । ‘जनकपुर आउने पर्यटकलाई सन्तुष्ट बनाउने वातावरण हामीले तयार पार्नुपर्छ । यो हाम्रो धार्मिक र सामाजिक कर्तव्य हो,’ उनले थपे ।
अध्यक्ष मिश्रले जानकारी दिएअनुसार धर्मशालाको निर्माणमा सरकारको सट्टा निजी तथा संस्थागत सहयोग प्रमुख स्रोत रहेको छ । ‘यो धार्मिक भावनाबाट प्रेरित भई निर्माण गरिएको जनसहभागिताको उदाहरण हो,’ उनले भने, ‘धार्मिक पर्यटनको सेवा सुधारका लागि परिषदले आगामी दिनमा अझ धेरै परियोजना सञ्चालन गर्ने योजना बनाएको छ ।’
धार्मिक, सामाजिक र पर्यटकीय महत्व बोकेको जनकपुरधाममा पछिल्लो समय यस्ता पूर्वाधार विस्तारलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । विशेषतः भारतबाट आउने रामभक्त तीर्थयात्रीका लागि जनकपुर एक प्रमुख गन्तव्य हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


