रमण कन्ट्रक्सनका सञ्चालक बलराम महतोविरुद्ध पक्राउ पूर्जी

जनकपुरधाम, ३० चैत । जनकपुरधामका चर्चित व्यापारी तथा रमण कन्ट्रक्सनका सञ्चालक बलराम महतोमाथि ठगीको आरोपमा पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान तथा कारवाही शाखाले महतोविरुद्ध औपचारिक रूपमा पक्राउ पूर्जी जारी गरेको हो ।
बलराम महतोमाथि जनकपुरधाम उपमहानगरपालिका–४ निवासी विष्णुदेव यादवका छोरा सन्तोषकुमार यादवले बैंकिङ्गसम्बन्धी कसुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको र महतो हाल फरार रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
सन्तोषकुमार यादव र बलराम महतोबीच विगतमा करिब २५ करोड रुपैयाँ बराबरको व्यवसायिक कारोबार भएको थियो । तर, बलरामले उक्त कारोबारमध्ये आफूले ८ करोड रुपैयाँ मात्र तिर्नुपर्ने दाबी गर्दै बाँकी रकम दिन अस्वीकार गरेपछि कानुनी विवाद उत्पन्न भएको थियो ।
उक्त विवादको आधारमा सन्तोषले अदालतमा मुद्दा दायर गरेपछि अनुसन्धान प्रक्रिया अगाडि बढेको थियो । सोही मुद्दामा पुनरावेदन अदालतले समेत बलराम महतो दोषी ठहर गरेको छ । अदालतको फैसला आउनासाथ महतो फरार भएका छन् ।
स्रोतका अनुसार २०८१ चैत २१ गते पुनरावेदन अदालतले दोषी ठहर गरेपछि बलराम महतो सम्पर्कविहीन भएका छन् । उनी हाल फोनसमेत अफ गरेर फरार रहेको बताइएको छ । प्रहरीले उनको खोजीका लागि टोली परिचालन गरिसकेको छ ।
बलराम महतो धनुषा जिल्लाको साविक रघुनाथपुर गाविस–४ (हाल सवैला नगरपालिका–१२) का स्थायी बासिन्दा हुन् । हाल उनी जनकपुरधाम उपमहानगरपालिका–१३ मा बसोबास गर्दै आएका थिए । उनी रमण कन्ट्रक्सनका सञ्चालक हुन् ।
घटनाबारे प्रतिक्रिया लिन खोज्दा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी भूवनेश्वर तिवारीले स्पष्ट जानकारी दिन मानेनन् । उनले उक्त मुद्दा अपराध अनुसन्धान शाखामा रहेको भन्दै आफूले थप विवरण नबुझाएको प्रतिक्रिया दिए ।
यता, प्रहरी स्रोतका अनुसार महतोविरुद्ध शुक्रबार औपचारिक रूपमा पक्राउ पूर्जी जारी गरिएको हो । उनलाई पक्राउ गर्न विशेष टोली खटाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


