काठमाडौं, ३० चैत । वर्षौंदेखि राष्ट्रिय तहमा सञ्चालित हुँदै आएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अब इतिहास बन्ने संकेत देखिएको छ । संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिअन्तर्गतको उपसमितिमा एसईई हटाउने सहमति जुटेको छ ।

विद्यालय शिक्षा विधेयकमा दफावार छलफलका क्रममा उपसमितिमा यस्तो सहमति बनेको हो । समितिको एक सदस्यका अनुसार विद्यालय शिक्षा अब दुई तह — आधारभूत (कक्षा १–८) र माध्यमिक (कक्षा ९–१२) — मा विभाजन गर्ने प्रस्तावमा सहमति भएको छ ।

‘एसईई अब हुने छैन,’ शिक्षा समितिसँग नजिक स्रोतले भन्यो, ‘विद्यालय शिक्षाको अन्तिम परीक्षा अब कक्षा १२ मै हुनेछ । कक्षा १० को परीक्षा विद्यालयमै हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तहको परीक्षा सञ्चालन गर्ने सहमति भएको छ ।’

एसईई अन्त्यको सन्देश सन् २०१६ मा तत्कालीन एसएलसी प्रणालीलाई संशोधन गरी एसईईका रूपमा रूपान्तरण गरिएको थियो । तर, शिक्षाविद्हरूदेखि विद्यार्थी तथा अभिभावकसम्म यस परीक्षा प्रणालीको प्रभावकारिता र व्यवस्थापनमाथि पटकपटक प्रश्न उठ्दै आएका थिए ।

कतिपय सांसदले एसईईलाई प्रदेश तहमा जिम्मा दिन संशोधन प्रस्ताव राखेका थिए । उपसमितिमा प्रदेशलाई अधिकार दिने विषयमा समेत छलफल भए पनि अन्ततः परीक्षा प्रणालीमा नै पुनर्संरचना गरेर एसईईलाई नै हटाउने निष्कर्षमा उपसमिति पुगेको हो ।

शैक्षिक प्रशासनमा नयाँ संरचना उपसमितिमा जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नराख्ने सहमति समेत जुटेको छ । नयाँ संरचनामा स्थानीय तहलाई आधारभूत तहको जिम्मेवारी दिइनेछ भने राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तह हेर्नेछ ।

ईसीडी (बाल विकास शिक्षा) लाई दुई वर्षको बनाउने प्रस्तावमा पनि सहमति जुटेको छ । बाल विकास कार्यक्रमलाई थप प्रभावकारी बनाउन समयावधि बढाउने प्रस्तावलाई उपसमितिले सकारात्मक रूपमा लिएको हो ।

शिक्षक आन्दोलन र विधेयकको गति २०८० चैत २० देखि शिक्षकहरू सडक आन्दोलनमा छन् । उनीहरूको मुख्य माग भनेकै नयाँ विद्यालय शिक्षा ऐन जारी गर्नु हो । त्यसै कारण उपसमिति अहिले विधेयकमाथि तीव्र गतिमा छलफल गरिरहेको छ ।

प्रदेश–प्रदेशबाट आएका सुझाव, सांसदको संशोधन प्रस्ताव र विज्ञहरूको सुझावलाई एकीकृत गरेर विधेयक तयार पार्ने अन्तिम तयारीमा उपसमिति जुटेको छ ।

नयाँ शिक्षा ऐनको बाटो खुल्ने आशा विद्यालय शिक्षा विधेयकमार्फत मुलुकको सम्पूर्ण विद्यालय तहको संरचना पुनर्गठन हुने भएको छ । एसईई हट्ने सहमतिलाई शिक्षामा ऐतिहासिक मोडको रूपमा हेरिएको छ ।