जनकपुरधाम, ७ बैशाख । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले क्षेत्रका सबै विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्न कडाइका साथ निर्देशन दिएको छ ।

गाउँ कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनामा सामुदायिक तथा संस्थागत विद्यालयलाई शैक्षिक गतिविधि अवरुद्ध नगर्न र भर्ना अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ ।

गाउँपालिकाका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्णयअनुसार शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।

सो अवधिभित्र सबै विद्यालयले भर्ना प्रक्रिया पूरा गरी जेठ १ गतेदेखि नियमित कक्षा सञ्चालन गर्नुपर्ने स्पष्ट गरिएको छ ।

सूचनामा नेपालको संविधान र प्रचलित कानुनअनुसार आधारभूत तथा माध्यमिक तहको शिक्षा व्यवस्थापनको अधिकार स्थानीय तहमा रहेको उल्लेख गर्दै गाउँ शिक्षा समितिको निर्णयबमोजिम यस्तो निर्देशन जारी गरिएको जनाइएको छ ।

पाठ्यपुस्तक उपलब्ध नभए पनि कक्षाकोठामा आधारभूत रूपमा पढाइ सुरु गर्न शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई सचेत गराइएको छ । यसबाट शैक्षिक गतिविधि निरन्तर राख्न सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ ।

त्यसैगरी, आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा विद्यालय सञ्चालन हुने पनि सूचनामा उल्लेख छ । विद्यार्थी भर्ना दर वृद्धि र पठनपाठनलाई प्रभावकारी बनाउन स्थानीय तहले सक्रियता बढाएको जनाइएको छ ।

यसअघि संघीय सरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय राजपत्रमार्फत लागू गरिसकेको भए पनि गाउँपालिकाले स्थानीय आवश्यकता अनुसार आफ्नै निर्णय लागू गरेको हो ।