जनकपुरधाम, ७ बैशाख । नेपालको एकमात्र रेल सेवा सञ्चालन गर्दै आएको नेपाल रेल्वे कम्पनी लिमिटेड आर्थिक संकटमा परेको तथ्यांकले देखाएको छ ।

आम्दानीको तुलनामा अत्यधिक खर्च बढ्दै जाँदा कम्पनीको वित्तीय अवस्था कमजोर बन्दै गएको छ भने दीर्घकालीन स्थायित्वमै प्रश्न उठ्न थालेको हो ।

कम्पनीका पूर्वमहाप्रबन्धक निरञ्जन झाका अनुसार हाल मासिक करिब ७५ लाख रुपैयाँ आम्दानी हुँदा खर्च भने १ करोड २९ लाख रुपैयाँ पुग्ने गरेको छ ।

आम्दानीले खर्च धान्न नसक्दा कम्पनी सरकारको जमानीमा ऋण लिएर सञ्चालनमा रहेको छ । २०८१ असार मसान्तसम्म कम्पनीको कुल ऋण साँवा–ब्याजसहित ७९ करोड रुपैयाँ नाघिसकेको छ ।

कम्पनीको व्यावसायिक कार्ययोजना २०८२ अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म १९ करोड २१ लाख रुपैयाँ आम्दानी हुँदा ६७ करोड ३७ लाख रुपैयाँ खर्च भएको छ ।

पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्रै ८ करोड ५० लाख आम्दानी हुँदा २६ करोड २७ लाख रुपैयाँ खर्च भएको देखिन्छ । पाँच वर्षको समग्र तथ्यांकले आम्दानीभन्दा खर्च झन्डै तीन गुणा बढी रहेको स्पष्ट पार्छ ।

हाल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालन भइरहेको रेल सेवा दैनिक तीन पटक चल्ने गरेको छ । सेवा यात्रुका लागि उपयोगी भए पनि आर्थिक हिसाबले भने कम्पनीलाई ठूलो घाटा व्यहोर्नु परेको छ ।

घाटाको मुख्य कारणमध्ये विदेशी प्राविधिक जनशक्तिमा हुने उच्च खर्चलाई लिइएको छ । कम्पनीले १७ जना भारतीय प्राविधिक कर्मचारीका लागि कोंकन रेलवे कॉर्पोरेशनलाई मासिक करिब १ करोड १२ लाख रुपैयाँ भुक्तानी गर्दै आएको छ ।

यसको तुलनामा नेपालीतर्फ १०३ कर्मचारीको कुल तलब मात्र १७ लाख रुपैयाँ रहेको छ । यसले लागत संरचनामा ठूलो असन्तुलन देखाउँछ ।

यसका अतिरिक्त महाप्रबन्धक पद लामो समयसम्म रिक्त रहनु, स्थायी प्राविधिक जनशक्ति अभाव, मर्मतसम्भारका लागि वर्कसप नहुनु, स्वदेशी चालक तथा स्टेशन मास्टरको कमी र फ्युलिङ स्टेसनको अभावले पनि सञ्चालन खर्च बढाएको छ ।

इन्धनसमेत भारतबाट ल्याउनुपर्ने बाध्यता कम्पनीका लागि थप आर्थिक बोझ बनेको छ ।

२०७८ चैत १९ देखि पुनः सञ्चालनमा आएको रेल सेवा हाल ५२ किलोमिटर क्षेत्रमा विस्तार भइसकेको छ । तर, सेवा विस्तारसँगै आय वृद्धि हुन नसक्दा कम्पनीको वित्तीय अवस्था थप जटिल बनेको देखिन्छ ।

आम्दानी बढाउन कम्पनीले विभिन्न विकल्प अघि सारेको छ । भारतको रक्सौलस्थित २८ एकड जग्गा भाडामा दिँदा वार्षिक करिब ८ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

त्यस्तै, पुरानो न्यारो गेजका कोइला इन्जिन लगायत सामग्री प्रयोग गरी रेल संग्रहालय स्थापना गरेर पर्यटनमार्फत आय वृद्धि गर्ने योजना पनि बनाइएको छ ।

यता, स्थानीय व्यापारी तथा उद्योगीहरूले यात्रु सेवा मात्र पर्याप्त नभएको भन्दै तत्काल मालवाहक (कार्गो) सेवा सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

जनकपुरधामका व्यवसायीका अनुसार भारतको कलकत्ता बन्दरगाह बाट सस्तो दरमा मालसामान ढुवानी गर्न कार्गो रेल सेवा प्रभावकारी हुन सक्छ । तर, यस्तो सेवा अझै कार्यान्वयनमा आउन सकेको छैन ।

पूर्वमहाप्रबन्धक झाले पनि कम्पनीलाई नाफामुखी बनाउन कार्गो सेवा अपरिहार्य रहेको बताए । उनका अनुसार वोगी थप्ने वा नयाँ रेलमार्फत कार्गो सेवा सञ्चालन गर्ने विषयमा छलफल भए पनि कार्यान्वयन हुन सकेको छैन ।

विज्ञहरूका अनुसार व्यवस्थापन सुधार, स्वदेशी दक्ष प्राविधिक जनशक्ति उत्पादन, लागत नियन्त्रण, कार्गो सेवा विस्तार तथा ऋण व्यवस्थापनमा सुधार गर्न सके रेल सेवा नाफामुखी बन्न सक्ने सम्भावना छ । अन्यथा बढ्दो ऋण र असन्तुलित खर्चले कम्पनीलाई थप संकटतर्फ धकेल्ने जोखिम रहेको उनीहरूको चेतावनी छ ।

स्थानीयवासीहरूले भने रेल सेवा दैनिक जीवनमा उपयोगी रहेको स्वीकार गर्दै यसको दिगो सञ्चालनका लागि व्यवस्थापन सुधार र सेवा विस्तारमा ध्यान दिन सरकारसँग आग्रह गरेका छन् ।