पर्सा, ३० चैत । हनुमान जयन्तीको अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा पर्साको वीरगञ्जस्थित छपकैया चोकमा दुई समुदायबीच झडप भएपछि अवस्था तनावग्रस्त बनेको छ ।

सुरक्षाकर्मीका अनुसार शोभायात्रा छपकैया चोक पुग्दा दुई समुदायबीच विवाद सुरु भयएको थियो । त्यसको केहीबेरमै झडपको रूप लियो । झडपको क्रममा दुवै पक्षबाट ढुंगामुढा र होहल्ला भएको जानकारी प्राप्त भएको छ । घटनाका क्रममा केही पसलहरूमा आगजनी गरिएको छ भने दर्जनभन्दा बढी स्थानीय र केही प्रहरी पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूलाई नजिकको अस्पतालमा उपचारका लागि लगिएको छ । झडप नियन्त्रणमा लिन सुरक्षाकर्मीले लाठीचार्ज गर्नुका साथै केही स्थानमा अश्रुग्यास समेत प्रहार गरिएको थियो ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले दुबै समुदायबीच आपसी सद्भाव कायम राख्न अपिल गर्दै भने, ‘धार्मिक अवसरलाई द्वन्द्वमा परिणत गर्नु निन्दनीय हो । स्थानीय प्रशासन, राजनीतिक दल र धार्मिक अगुवाबीच समन्वय गरेर शान्ति स्थापनाको प्रयास जारी छ ।’

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, ‘घटनाको प्रारम्भिक अनुसन्धान सुरु भइसकेको छ । हामीले समुदायका अगुवासँग संवाद गरिरहेका छौं । स्थिति नियन्त्रणमा लिन सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको छ ।’

छपकैया क्षेत्रमा सुरक्षा संवेदनशील बनेको छ । प्रहरी र सशस्त्र प्रहरीले संयुक्त गस्ती बढाएको छ भने तनावग्रस्त क्षेत्रलाई ‘सुरक्षा जोखिमयुक्त’ घोषित गरिएको छ ।