राराब क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको ताला खोलियो

जनकपुरधाम, २९ चैत । विद्यार्थी प्रतिनिधि र क्याम्पस प्रशासनबीच सकारात्मक वार्ता सम्पन्न भएसँगै जनकपुरधामस्थित रामस्वरुप रामसागर (राराब) क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको ताला खोलिएको छ ।
विद्यार्थी प्रतिनिधिहरूले शैक्षिक सुधारका लागि आवाज उठाउँदै केही दिनअघि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
उनीहरूले शैक्षिक गुणस्तरमा सुधार, पारदर्शिता, नियमित कक्षा सञ्चालन तथा समयमै परीक्षा र परिणाम प्रकाशन लगायतका मागहरू राख्दै तालाबन्दी गरेका थिए।

शुक्रबार सम्पन्न वार्तापछि दुबै पक्षबीच सकारात्मक समझदारी बनेको र सुधारका प्रक्रिया तत्काल सुरु गरिने प्रतिबद्धता क्याम्पस प्रशासनले व्यक्त गरेपछि तालाबन्दी खोलिएको स्वतन्त्र विद्यार्थी युनियनका सभापति मनिष यादवले जानकारी दिए ।

विद्यार्थी प्रतिनिधिहरूले सहमतिपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आदरणीय विद्यार्थी, अभिभावक, नागरिक समाज एवम् वौद्धिक वर्ग यस रा.रा.ब. क्याम्पसको समग्र विकासका लागि हामी विद्यार्थी प्रतिनिधि सदैव तत्पर रहनेछौं । आजको सहमतिसँगै शैक्षिक सुधारतर्फ हामी एक कदम अगाडि बढेका छौं ।’
क्याम्पस प्रशासनले पनि विद्यार्थी प्रतिनिधिहरूको माग जायज रहेको र सुधारका कामहरू शीघ्र अगाडि बढाइने उल्लेख गरेको छ ।

विद्यार्थी नेताहरूले क्याम्पसमा कुनै पनि किसिमको अनियमितता, ढिलासुस्ती वा विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने तत्वहरूलाई सजग गराउँदै चेतावनी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


