जनकपुरधाम, २९ चैत । मधेश केन्द्रित ठूला दलहरूमा समेटिन नसकेका १० भन्दा बढी साना राजनीतिक दलहरू अब मिलेर वैकल्पिक राजनीतिक मोर्चा निर्माण गर्न जुटेका छन् ।

पूर्वगृहमन्त्री मोहम्मद रिजवान अन्सारीको नेतृत्वमा ती दलहरू गठबन्धनको अन्तिम चरणमा पुगेका छन् । गठबन्धनमार्फत मधेशको अधिकार, पहिचान र संघीयता जस्ता मुद्दालाई नयाँ ऊर्जा र स्पष्ट एजेन्डासहित उठाउने तयारी गरिएको छ ।

नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष रामकुमार महतोका अनुसार यो गठबन्धन मधेश मात्र नभई देशभरका उत्पीडित, उपेक्षित र पछाडि पारिएका वर्गहरूको प्रतिनिधित्व गर्ने राजनीतिक शक्तिको रूपमा अघि सारिनेछ । उनले भने, ‘देश र मधेशको यथार्थ प्रतिनिधित्व गर्ने वैकल्पिक राजनीतिक प्लेटफर्मको खाँचो महसुस भएको छ । त्यही आधारमा हामी साना दलहरूबीच एकजुट हुँदैछौं ।’

सद्भावना पार्टी नेपालको विशेष पहलमा गठबन्धनको गृहकार्य अघि बढाइएको छ । गठबन्धनमा सामेल हुने तयारीमा रहेका दलहरूमा नेपाल सद्भावना पार्टी नेपाल, सङ्घीय समाजवादी पार्टी, नेपाली जनता दल, ऐतिहासिक जनता पार्टी, बहुजन एकता पार्टी नेपाल, जन अधिकार पार्टी नेपाललगायतका अन्य क्षेत्रीय दलहरू पनि मोर्चामा आवद्ध हुने चर्चा छ ।

गठबन्धनको औपचारिक घोषणा वैशाख ४ गते पत्रकार सम्मेलनमार्फत गरिनेछ भने जेठ १५ गते जनकपुरधाममा भव्य सभा आयोजना गरी सार्वजनिक कार्यक्रममार्फत मोर्चाको औपचारिक सार्वजनिक प्रस्तुति गरिने अध्यक्ष महतोले जानकारी दिए ।

नयाँ गठबन्धनले संविधान संशोधनको नाममा संघीयता, समानुपातिक समावेशीकरण, धर्मनिरपेक्षता र लोकतन्त्र जस्ता उपलब्धिहरूमा गरिने हस्तक्षेपलाई रोक्न बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ । मोर्चाले प्रारम्भिक चरणमा तराई–मधेशका १८ जिल्लामा जनजागरण अभियान सञ्चालन गर्ने तयारी समेत गरेको छ ।

देशको वर्तमान राजनीतिक परिदृश्यमा साना दलहरूको यो नयाँ पहललाई विश्लेषकहरूले मधेश राजनीतिमा एक ‘फ्रेश फेस’ र ‘स्वरुपगत पुनर्संरचना’ को रूपमा लिएका छन् । तर, मोर्चाले जनताको विश्वास जित्न साझा एजेन्डा, नेतृत्वको एकता र सांगठनिक मजबूतीलाई कसरी अघि बढाउँछ भन्ने मुख्य चुनौती हुने देखिन्छ ।