सप्तरी, २९ चैत । मधेश कृषि विश्वविद्यालय राजविराज अन्तर्गत कृषि संकायले शैक्षिक सत्र २०८१/८२ का लागि कृषि स्नातक तह (BSc Agriculture) मा भर्ना खुलाएको छ । यस कार्यक्रम अन्तर्गत ४ वर्षे शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा २०८२ साल वैशाख ५ गते शुक्रबार बिहान ८ः३० बजे राजविराज नगरपालिका–३ स्थित श्री के.अ. मा.वि.मा सञ्चालन हुने भएको छ ।

विश्वविद्यालयले समयमै अनलाइन आवेदन दिएकामध्ये योग्य ठहरिएका परीक्षार्थीहरूका लागि प्रवेश पत्र २०८१ साल चैत्र ३० गते बिहान ८ः०० बजेपछि विश्वविद्यालयको आधिकारिक वेबसाइट (www.mau.edu.np) बाट डाउनलोड गर्न सकिने जानकारी दिएको छ ।

परीक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूले अनिवार्य रूपमा सोही वेबसाइटबाट प्रवेश पत्र डाउनलोड गरी परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ ।

मधेश कृषि विश्वविद्यालयले प्रदेशमै कृषि शिक्षा प्रवद्र्धन गर्ने उद्देश्यले कृषि स्नातक तह सञ्चालन गर्दै आएको छ । विश्वविद्यालय स्रोतका अनुसार प्रत्येक वर्ष विद्यार्थीहरूको चासो र सहभागिता बढ्दो क्रममा रहेको छ ।

रजिस्ट्रार डा. भगवान ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयले आधुनिक कृषि शिक्षालाई गाउँ र समाजसम्म पुर्याउने उद्देश्यका साथ स्थानीय जनशक्तिलाई दक्ष बनाउने प्रयास गरिरहेको छ । कृषिमा प्राविधिक दक्षता विकासले रोजगारी र आत्मनिर्भरता बढाउने विश्वास हामीले लिएका छौं ।’

प्रवेश परीक्षा, पाठ्यक्रम, सिट संख्या, छात्रवृत्ति र अन्य सम्बन्धित जानकारीका लागि विद्यार्थीहरूले विश्वविद्यालयको वेबसाइट www.mau.edu.np वा कृषि संकायको सूचना पृष्ठ अवलोकन गर्न सक्नेछन् ।