जनकपुरधाम, २९ चैत । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संघीय शासन प्रणाली लागू भइसकेपछिको लगभग एक दशकपछि पनि सरकारले विकास योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेका कारण सरकारका तीनै तहबीच समन्वयको कमी भएको बताएका छन् ।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. महतले ‘संघीयता लागू त भयो, तर व्यवहारमा यसले जनताको अपेक्षाअनुसार सेवा र विकास दिन नसकेको’ टिप्पणी गरे । उनले यस अवस्थाको प्रमुख दोष सरकारका तीन तहबीचको असहकार्य, अधिकारको अस्पष्टता र योजना निर्माणमा तालमेलको अभाव भएको उल्लेख गरे ।

डा. महतले भने, ‘यदि स्थानीय, प्रदेश र संघीय सरकारबीच जिम्मेवारीको स्पष्ट बाँडफाँट र समन्वय छैन भने संघीयता स्वयं कमजोर बन्छ ।’ उनका अनुसार साना योजना स्थानीय तहबाट, मझौला योजना प्रदेश सरकारबाट र ठूला योजना केन्द्र सरकारबाट कार्यान्वयन गरिनु संघीयताको सही अभ्यास हुनेछ ।

उनले थपे, ‘विकासको गति बढाउन तालमेल मात्रै होइन, पारदर्शिता र जवाफदेहिता पनि आवश्यक छ ।’

तराई क्षेत्रमा सिचाई, बीउबिजन, मल अभाव लगायतका समस्याले कृषकहरू हैरान भइरहेका बेला कांग्रेसले समाधानका लागि विशेष योजना अघि सारेको डा. महतले बताए । ‘कमला र मरिन डाइभर्सन जस्ता आयोजना सिचाईका लागि गेम चेन्जर बन्न सक्छन्,’ उनले दाबी गरे ।

उनका अनुसार बीउ र मल वितरण प्रणालीलाई व्यवस्थित गर्न सरकारमार्फत पाँचवटा नयाँ कानुन पारित भइसकेका छन् ।

डा. महतले धार्मिक सहर जनकपुरधामको सरसफाइ र हरियालीप्रति विशेष ध्यान दिनुपर्ने सुझाव पनि दिए । ‘सहरको गरिमा उसको सरसफाइ र व्यवस्थापनबाट झल्किन्छ,’ भन्दै उनले नगर प्रमुखलाई सक्रियता देखाउन आग्रह गरे ।

संघीय व्यवस्थालाई बलियो बनाउन कांग्रेसले पारदर्शिता, जवाफदेहिता र कानुनी शासनलाई केन्द्रमा राखेको डा. महतले बताए । ‘हामी भ्रष्टाचारविरुद्ध स्पष्ट र कडा नीति लिएका छौं,’ उनको भनाइ थियो ।