प्रमुख स्टोर सहायक रावलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २८ चैत । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रमुख स्टोर सहायक प्रेमबहादुर रावलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
उनलाई नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
रावल कैलालीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका शाखा कार्यालयमा प्रमुख स्टोर सहायकको पदमा कार्यरत थिए । उनी भारतीय माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमिडिएट एजुकेसनबाट जारी गरिएको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर सहायक स्तर (राजपत्र अंकित चौथो तह) मा सेवा प्रवेश गरेका थिए ।
तर, अख्तियारको अनुसन्धानपछि उक्त प्रमाणपत्र नक्कली भएको पुष्टि भएको छ । यस आधारमा अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारवाही गर्न विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा भनिएको छ, ‘रावलले झुटा र नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा स्टोर सहायक तह चौथो पदमा नियुक्ति प्राप्त गरेर पछि बढुवा प्राप्त गरी प्रमुख स्टोर सहायक तहको सुविधाबाट लाभ उठाएका छन् । त्यसैले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कडा कारवाहीको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


