सर्लाही, २८ चैत । सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा नं. ११ स्थित नयाँरोड मधुवनी सडक खण्डमा एक ट्रकलाई भन्सार छलि स्याउ चोरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको ट्रकबाट १४ लाख ४० लाख बराबरको स्याउ बरामद गरिएको हो ।

प्रहरीले एक कन्टेनरमा स्याउ लोड गरी अवैध रूपमा नेपालबाट भारततर्फ निकासी गर्न लाँदै गरेको ट्रकलाई विशेष छानबिनका क्रममा रोकेको थियो । यसमा संलग्न पर्साको जिरा भवानी गाउँपािलका वडा नं. २ का ३६ वर्षीय चालक संजय चौधरी रहेको बताइएको छ ।

प्रहरीले ना.४. ख. ७१५० नम्बरको कन्टेनर चेकजाँच गर्दा उक्त कन्टेन्रबाट ठूलो मात्रामा स्याउ फेला परेको र तत्कालै उक्त कन्टेनर, स्याउ र चालकलाई नियन्त्रणमा लिइ भन्सार कार्यालय मलंगवा सर्लाहीमा बुझाइएको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईले भन्सार ऐनको उल्लंघन गर्दै अवैध रूपले निकासी गर्न खोजिएका सामग्रीमाथि कडा कारवाही गरिने बताए ।