गंगासागरको डिलमा स्वर्गीय रामनारायण मिश्रको शालिक निर्माणको विरोध

जनकपुरधाम, २८ चैत । जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीको पूर्वतर्फको डिलमा स्वर्गीय रामनारायण मिश्रको शालिक निर्माण गर्ने प्रयास भएको विषयमा स्थानीयवासीहरूले विरोध जनाएका छन् ।
स्थानीयले गंगासागर पोखरीको डिल धार्मिक र सांस्कृतिक दृष्टिकोणले अत्यन्तै संवेदनशील स्थल रहेको र यसमा कुनै प्रकारको संरचना निर्माण गर्नु उपयुक्त नहुने बताए ।
नेकपा एमालेका नेता शिवशंकर साह ‘हिरा’ले भने, ‘रामनारायण मिश्रको शालिक बन्नु हुँदैन भन्ने कुरा होइन, तर धार्मिक ऐतिहासिक स्थलको संरक्षण र संवर्धन पनि आवश्यक छ ।’ उनले थपे, ‘गंगासागरको पूर्वतर्फको डिल धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण स्थान हो । त्यस स्थानमा संरचना निर्माण गर्नु उपयुक्त नहुने हाम्रो मान्यता हो । शालिक निर्माणको उद्देश्य राम्रो भए पनि स्थानको छनोट गलत भएको कारण विरोध गरिएको हो ।’
नेता साहका अनुसार गंगासागर पोखरीभन्दा करिब १०० मिटर दक्षिणतर्फ गुठीको नाममा रहेका खाली जमिनहरू छन् । त्यहाँ स्वर्गीय मिश्रको शालिक निर्माण गरी उहाँप्रति सम्मान प्रकट गर्न सकिन्छ । यसका साथै, धार्मिक र ऐतिहासिक स्थलहरूको संरक्षण र संवर्धनमा सबैले ध्यान दिनु पर्नेमा उनले जोड दिए ।
स्थानीय समुदाय र सरोकारवाला पक्षहरूले आपसी समन्वय र समझदारीका आधारमा समाधान खोज्नुपर्नेमा बल दिँदै गंगासागरको ऐतिहासिकता जोगाउन सबैले चासो देखाउनु पर्ने आवश्यकता औंल्याएका छन् ।
स्वर्गीय रामनारायण मिश्र २०१५ सालमा तत्कालीन महोत्तरी क्षेत्रबाट सांसद निर्वाचित भएका थिए । उनी पहिलो जननिर्वाचित बिपी कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री थिए । २०१७ साल पुस–१ गते राजा महेन्द्रले बहुदलीय संसदीय व्यवस्था खोसेर मिश्रलाई लामो समयसम्म जेलमा राखेका थिए । जेलमा बिरामी परेका मिश्रलाई अन्तिम समयमा जेलबाट छाडिएको थियो । प्रजातन्त्र पुनस्थापना तथा सुधारका लागि अनवरत संघर्ष गर्ने मिश्रको २०२७ साल पुस ६ गते निधन भएको थियो ।
स्थानीयवासी र विभिन्न सरोकारवाला पक्षहरूले गंगासागर पोखरीको ऐतिहासिकता र धार्मिक महत्त्वलाई जोगाउनका लागि एकमत भएर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । सालिक निर्माणको उद्देश्य सम्मानजनक भए पनि स्थानको चयन र संरचना निर्माणका विषयमा गहिरो विचार र समन्वयको आवश्यकता रहेको स्थानीयको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


