सप्तरी, २८ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ताबीच कुटाकुट भएको छ ।

दुवै पक्षका बीच विवाद बढ्दा असन्तुष्ट कार्यकर्ताले आपसमा कुटपिट गरेका हुन् । यो घटना सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थित वडा अधिवेशनको क्रममा भएको हो ।

कुटपिटका क्रममा समाजवादी युवा संघ नेपाल सप्तरीका अध्यक्ष केदारप्रसाद यादव र समाजवादी युवा संघ नेपाल विष्णुपुर गाउँपालिका समितिका अध्यक्ष देवेन्द्र यादव घाइते भएका छन् ।

घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको छ । अस्पतालका अनुसार दुवै जना घाइते व्यक्तिहरूको टाउकोमा चोट लागेको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको बताउँदै सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले कुटपिटको घटनामा संलग्न व्यक्तिहरुको पहिचान गर्ने र आवश्यक कानुनी कदम चाल्ने बताए ।

सप्तरीको विष्णुपुर गाउँपालिकामा भएको यस घटनाले पार्टीका आन्तरिक विवादलाई पुनः सार्वजनिक गराएको छ ।