जनकपुरधाम, २८ चैत । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको प्रतिष्ठित शैक्षिक संस्था रामस्वरुप रामसागर बहुमुखी (रा.रा.ब.) क्याम्पसका प्रमुख प्रा.डा. वसन्त कुमार कर्णले आफूमाथि भएको कथित ‘कालोमोसो प्रकरण’ योजनाबद्ध षड्यन्त्र भएको दाबी गरेका छन् ।

आज नेपाल पत्रकार महासंघ धनुषाको शास्त्री सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कर्णले सो घटनालाई अतिरञ्जित गरि आफ्नो चरित्र हत्या र मानसिक त्रास सिर्जना गर्ने नियोजित प्रयास भएको बताएका हुन् ।

उनले चैत २१ गते बेलुका करिब ४ बजेको समयमा विज्ञान भवनबाट मोटरसाइकल चढेर बाहिर निस्कँदै गर्दा लुगामा मसि छर्किएको सामान्य घटनालाई ‘कालोमोसो दलिएको’ भनेर नियतबस प्रचार गरिएको दाबी गरे । उनका अनुसार यो कार्य सुनियोजित हो । यसको मूल उद्देश्य आफूलाई बदनाम पार्दै संस्थागत सुधारका प्रयासहरूमा ब्रेक लगाउनु हो ।

कर्णले आफू त्रिभुवन विश्वविद्यालयको इतिहासमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएको पहिलो क्याम्पस प्रमुख भएको उल्लेख गर्दै भने, ‘म अल्पसंख्यक समुदायबाट आएको छु । मेरो नियुक्तिले सधैं सत्ताको वरिपरि घुम्ने संरचना हल्लिएको छ । त्यसैले सुरुदेखि नै मलाई असफल बनाउने षड्यन्त्रहरू चलाइएका छन् ।’

उनीमाथि भइरहेको आक्रमणहरूको पछाडि विभिन्न स्वार्थ समूह, शैक्षिक माफिया र राजनीतिक चलखेलमा लिप्त कर्मचारीहरूको गठबन्धन रहेको आरोपसमेत उनले लगाए ।

कर्णले विगत दुई महिनामा क्याम्पसमा परीक्षा प्रणालीमा व्यापक सुधार ल्याइएको, सिसिटिभी जडानमार्फत अनियमितता नियन्त्रण गर्ने प्रयास र कार्यालय प्रणालीलाई पारदर्शी बनाउने जस्ता कामले शैक्षिक माफियाहरूलाई असहज बनाएको बताए ।

‘शिक्षा क्षेत्रको सुधारबाट लाखौं रुपैयाँको अनैतिक आम्दानी प्रभावित भएपछि उनीहरूले मविरुद्ध प्रत्यक्ष हमला गर्न थालेका छन्,’ उनले भने ।

कर्णले क्याम्पसमा हाल भइरहेको तालाबन्दीबारे पनि चर्को आलोचना गरे । उनले भने, ‘छात्रसंघ निर्वाचनको टिकट नपाएका वा उमेर हद नाघेका नेताहरूले सातवटै विद्यार्थी संगठनहरुलाई प्रयोग गरेर तालाबन्दी गराएका छन् । यसको उद्देश्य क्याम्पसको शैक्षिक वातावरणलाई अस्थिर बनाउनु हो ।’

उनले यो आन्दोलनमा संलग्न केहि विद्यार्थी संगठनहरू र नेताहरू स्वार्थका लागि प्रयोग भइरहेको र उनीहरूमार्फत बाह्य तत्वलाई भित्र्याएर परिस्थिति बिगार्ने कोशिश भइरहेको दाबी गरे ।

सबैभन्दा ठूलो आरोप क्याम्पसकै सहायक लेखापाल संजय कुमार दास माथि लगाइएको छ । कर्णका अनुसार दासले वर्षौंदेखि भ्रष्टाचारबाट आर्जन गरेको अवैध सम्पत्ति सुरक्षित राख्न र सुधारको प्रयासलाई असफल बनाउन केही विद्यार्थी र बाह्य व्यक्तिहरूलाई पैसाको लोभमा प्रयोग गरिरहेका छन् ।

‘संजय दास यस घटनाको योजनाकार हुन्,’ कर्णले भने,‘यस्ता व्यक्ति भविष्यमासमेत यस्तै अप्रिय घटनाहरू दोहोर्याउने खतरा रहन्छ ।’

पत्रकार सम्मेलनमा कर्णले आफू कुनै पनि दबाब वा षड्यन्त्रका अगाडि नझुक्ने प्रष्ट पारे । उनले भने, ‘यी सबै योजनाहरू मलाई मानसिक दबाबमा राखेर राजीनामा गराउने हुन् । तर, म आफ्नो मर्यादित जिम्मेवारीबाट पछि हट्दिन ।’

उनले घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गर्दै क्याम्पसको शैक्षिक प्रतिष्ठा र सुधारको यात्रालाई निरन्तर अगाडि बढाउने दृढतासमेत जनाए ।