जनकपुरधाम, २८ चैत । जनकपुरधामका ऐतिहासिक एवम् धार्मिक स्थलहरूको संरक्षण र सुरक्षा गम्भीर संकटमा परेको देखिएको छ । जनकपुरधामले प्राचीन मठमन्दिर र धार्मिक सरोवरहरूको प्रतिष्ठान निर्माण गरेको छ । तर, यहाँका धार्मिक स्थलहरूको जग्गा अब भने शक्तिशाली जनप्रतिनिधिहरूको अवैध कब्जामा परेको छ । जनप्रतिनिधिहरूसँगै स्थानीय मठमन्दिरका जग्गा पनि अवैध कब्जा र अनधिकृत निर्माणका कारण संकटमा छन् ।

नेपाली कांग्रेसका मधेश प्रदेश सभा सदस्य जंगीलाल राय यादव र नेकपा एमालेका प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुरले प्राचीन मठमन्दिर र सरोवरको ऐतिहासिक महत्त्वलाई अवज्ञा गर्दै निजी स्वार्थका लागि जग्गा कब्जा गरेको आरोप लगाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१४ प्रगतिनगरस्थित विहारकुण्डको नाममा रहेको ६ कट्ठाभन्दा बढी जग्गा कब्जा गरेर घर निर्माण गरिरहेका जंगीलाल राय यादवसँगै नेकपा एमालेका प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुरले पनि रत्नसागर मन्दिरको ८ कट्ठा जग्गा कब्जा गरेको आरोप लगाइएको हो ।

रत्नसागर मन्दिर जनकपुरधामको एक प्रमुख धार्मिक स्थल हो । यहाँ ऐतिहासिक र धार्मिक मूल्य राख्ने ८ कट्ठा जग्गा हाल प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुरको नियन्त्रणमा रहेको बताइएको छ । उनले मन्दिरको जग्गा कब्जा गरेर त्यसमा निर्माण कार्य गर्दै आएको आरोप लगाइएको छ । ठाकुरले यस क्षेत्रको परिक्रमा सडकको छेउमै रहेको जग्गा एक दशकभन्दा लामो समयदेखि कब्जा गरेको आरोप छ । त्यसको अनुमानित मूल्य १२ करोडभन्दा बढी रहेको छ ।

ठाकुरले मन्दिरकै जग्गामा निर्माण व्यवसाय सञ्चालन गरिरहेको र ग्यारेजको रूपमा प्रयोग गरिरहेको पनि आरोप लगाइएको छ । उनले मन्दिरको नजिकैको ३ कट्ठा जग्गा समेत कब्जा गरिरहेको आरोप छ। यस क्षेत्रमा निर्माण कम्पनीका गाडी राखेर ग्यारेजको रूपमा प्रयोग गर्ने कार्य पनि गरिएको छ ।

यद्यपि, ठाकुरले आफूमाथिको आरोपलाई निराधार भनेका छन् । ठाकुरले आफूले कुनै प्रकारको नियमको उल्लंघन नगरेको दाबी गरेका छन् । उनले भने, ‘ममाथि लगाइएको आरोप निराधार हो । म त भन्छु यदी गुठीको जग्गा मैले राखेको छु भने सरकारले सबभन्दा पहिला मबाटै कारवाहीको शुरुवात गरोस् । तर, शुरुवात गर्नुपर्छ । यहाँ त यस्ता यस्ता ठुला ठुला मान्छेले कब्जा गरेर बसेका छन् जसको नाम पनि भन्न मिल्दैन ।’ तर, स्थानियका अनुसार उनको कार्यप्रति गम्भीर प्रश्न उठिरहेको छ ।

यसमा महन्थ वैकुण्ठ दासको नाम पनि जोडिएको छ । उनी रत्नसागर मन्दिरका तत्कालीन प्रमुख थिए । वैकुण्ठ दास हत्या आरोपमा फरार छन् । अहिले सो मन्दिरको जग्गा अवैध रुपमा किनबेच भइरहेको छ । गुठी संस्थानको रेकर्डअनुसार रत्नसागर मन्दिरको ५२ बिघा १४ कट्ठा ७ धुर तैनाथी जग्गामध्ये अहिले १९ बिघा १६ कट्ठा ४ धुर मात्र बाँकी छ ।

जनकपुरधामका मठमन्दिर र सरोवरलाई सुरक्षा एवम् संरक्षण दिने दायित्व भने जनप्रतिनिधिहरूको जिम्मेवारी हो । तर, अहिले उनीहरूको कार्यकालमा उक्त जिम्मेवारीलाई चुनौती दिइएको छ ।

स्थानीय जनप्रतिनिधिहरूको भ्रष्टाचार र अनधिकृत कब्जाले मिथिलाका ऐतिहासिक र धार्मिक धरोहरहरूलाई खतरामा पारिरहेको स्थानीयको भनाइ छ ।