जानकी मन्दिरमा प्रसाद चढाउँदा पैसा तिर्नुपर्ने यो कस्तो बाध्यता ?

जनकपुरधाम, २७ चैत । जानकी मन्दिरमा श्रद्धालुहरूले भगवानलाई प्रसाद चढाउन जानु भनेको पुण्य कमाउने अवसर हो । तर, यस मन्दिरमा पुग्ने भक्तजनहरूका लागि नयाँ प्रकारको बाध्यता उत्पन्न भएको देखिन्छ ।
मन्दिरका पूजारीहरूले भक्तजनहरूलाई प्रसादसँगै दक्षिणास्वरुप नगद पनि तिर्न दबाब दिइरहेको देखिएको छ । यस्ता गतिविधिहरूको बारेमा कयौँ श्रद्धालुहरूले असन्तुष्टि व्यक्त गरेका छन् । मन्दिरमा करचापले नगद तिर्नुपर्ने अनिवार्यता बढ्दै गएको देखिएको छ ।
जानकी मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूले आफ्नो श्रद्धा अनुसार भगवानलाई अर्पण गर्नका लागि सामान्यतया फलफूल, मिठाइ वा अन्य कुनै प्रकारको प्रसाद ल्याउने गर्दछन् । तर, मन्दिरका पूजारीहरूले त्यो प्रसादसँगै नगद पनि चढाउनुपर्ने एक प्रकारको अजीब अनिवार्यता बनाएका छन् । भक्तजनले चढाएका नगद पूजारीहरुले दानपेटीमा नभइ आफ्नो गोजीमा राख्ने गरेको पाइएको छ ।
‘मन्दिरमा प्रसाद चढाउनका लागि दिँदा पूजारीलाई नगद पनि तिर्न दबाब दिइन्छन्,’ एक श्रद्धालुले भने, ‘यदि तपाईं पैसा दिनुहुन्न भने पूजारीहरूले तपाईंलाई प्रसाद चढाउन दिँदैनन् । यो कुरा हाम्रो धार्मिक आस्थामाथि प्रश्न उठाउने जस्तो छ ।’
जानकी मन्दिरका प्रमुख पूजारी मनोज दास र अन्य पूजारीहरूले भक्तजनलाई पूजा सामग्रीको लागि भन्दै पैसा तिर्न दबाब दिएको एक श्रद्धालुले बताए ।

‘हामीले एक पटक यस्तो गतिविधिको तस्बिर खिच्न खोज्दा पूजारीले हामीलाई भौतिक कारवाहीको धम्की दिए,’ पत्रकार रिंकु मिश्रले भनिन्, ‘यो धार्मिक स्थानको पवित्रता र श्रद्धाको मनोविज्ञानसँग मेल खाँदैन । मन्दिरमा आएको भक्तको पूजा सामग्रीसँगै नगद तिर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनुपर्दछ ।’
यस्तो परम्परा अन्य मन्दिरहरूमा देखिएको छैन । श्रद्धालुहरू भने यसलाई मन्दिरको पवित्रता र धार्मिक कर्मकाण्डको उल्लङ्घनको रूपमा लिन्छन् । उनीहरूको भनाइमा धार्मिक स्थलहरूमा श्रद्धालुहरूको आस्था र भक्ति मात्र महत्त्वपूर्ण हुनु पर्छ । आर्थिक दबाबका कारण यसमा विकृति आउन सक्छ । यस प्रकारको आर्थिक प्रचलनले मन्दिरमा आउने भक्तजनहरूको आस्थामा असर पारेको छ ।
एक श्रद्धालुले भने, ‘हामीले भगवानलाई अर्पण गर्ने प्रसादको साथ पैसा पनि चढाउनुपर्ने कुरा हाम्रा धार्मिक आस्थासँग मेल खाँदैन । यसले न केवल हाम्रो आस्था अपितु मन्दिरको सम्मानमा पनि धक्का पुर्याएको छ ।’

720,1600,0,0.45,-1
जानकी मन्दिरमा भक्तजनलाई पैसा चढाउने दबाबको विषयले धार्मिक आस्थाको अपमान मात्र नगरि मन्दिरको पवित्रता र श्रद्धालुको आस्थामासमेत असर पुर्याउन सक्ने पत्रकार मिश्रले बताइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


