फर्जी उपभोक्ता समिति बनाएर योजनामा अनियमितता गरेको आशंका

जनकपुरधाम, २७ चैत । धनुषाको कमला नगरपालिका–४ मा भौतिक पूर्वाधार कार्यालयले दिएको तीनवटा योजनामा नेकपा एमालेका नेताहरुको चलखेल पाइएको छ । यी योजनामा प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवको संरक्षणमा फर्जी उपभोक्ता समिति बनाएर काम गर्ने प्रयास भएको समाचार बाहिरिएको हो ।
धनुषा निर्वाचन क्षेत्र नम्बर–२ का एमाले नेता उमाशंकर अरगरियाले फर्जी उपभोक्ता समिति बनाएको शंका गरिएको छ । उक्त योजनामा २५ लाखको तीनवटा कार्य समावेश छन् ।
त्यसमा सघारा राधा कृष्ण मन्दिरको धर्मशालाको माथिल्लो तल्ला निर्माण, दुर्गा मन्दिरदेखि कमला बाँधसम्म सडक स्तरीय उन्नती र हुलाकी सडकको छेउमा अधुरो रामजानकी मन्दिर निर्माण समावेश छन् । यी सबै योजनामा अनियमितता र भ्रष्टाचारको शंका गरिएको छ ।
उपभोक्ता समिति गठनको प्रक्रिया अनुसार वडा कार्यालयमा १५ दिनभित्र समितिको गठन गर्नुपर्ने प्रावधान छ । तर, फर्जी समिति गठनको बारेमा जानकारी प्राप्त भए पछि कमला नगरपालिकाकी उपप्रमुख शिला देवी मण्डलले उक्त समिति गठनलाई अस्वीकृत गर्दै भौतिक पूर्वाधार कार्यालयलाई पत्र काटेर सम्झौता रोक्का गर्न अनुरोध गरेको बताइएको छ ।
स्थानीय स्रोतका अनुसार एमालेलगायतका नेता अरगरियाका कार्यकर्ताहरुले उपप्रमुखको नाममा फर्जी हस्ताक्षर गरेर समिति गठन गरेको आरोप लागेको छ ।
यस विषयमा वडा अध्यक्ष गोहिबारले भने, ‘हामीलाई ती योजनासम्बन्धी चिठ्ठी अहिलेसम्म वडा कार्यालयमा प्राप्त भएको छैन । ती चिठ्ठीहरु बीचौलियाहरुकहाँ पुगेका हुन सक्ने सम्भावना छ ।’
उपभोक्ता समितिको नाममा गरेको फर्जी कागजी प्रक्रिया र योजनामा भएको चलखेलको विषयमा स्थानीय स्तरमा व्यापक विरोध र शंका उठेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


